चाम्लिङ राई भाषाको ‘बोखा’ शब्द बन्यो निर्वाचनमा सबैको साझा भाषा

खोटाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनको बेला खोटाङमा ‘बोखा’ शब्दले खुब चर्चा पायो । जसको अर्थ हुन्छ माटो । ‘बोखा’ चाम्लिङ राई भाषा हो ।

यही फागुन–२१ गते देशभर एकैसाथ सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ‘बोखा’ शब्दलाई श्रम संस्कृति पार्टी खोटाङका नेता तथा कार्यकर्ताले अधिक प्रयोगमा ल्याएका थिए । चार महिनाअघि स्थापना भएको हर्कराज राई ‘हर्क साम्पाङ’ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न अञ्जुलीमा रहेको माटो हो ।

श्रम संस्कृति पार्टीको चुनाव चिह्न अञ्जुलीमा रहेको माटोमा भोट माग्ने क्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूले ‘बोखाडा भोट’ अर्थात् ‘माटोमा भोट ’ भन्दै निर्वाचन प्रचारप्रसारमा जुटेका थिए । माझ किरात भनेर चिनिने खोटाङ किरात राई समुदायको बाहुल्यता रहेको जिल्लामा पर्दछ ।

किरात राई समुदायको कतिपय भाषाबीचमा केही तालमेल देखिन्छ । एकै भूगोल भएका कारण सामान्यतः एकथरी राई समुदायको भाषा अर्काथरी राई समुदार्यले बुझ्छन् । त्यही कारण श्रम संस्कृति पार्टीका नेता तथा कार्यकर्तालाई राई समुदायमा पुगेर ‘बोखा’मा भोट माग्न सहज भएको हो ।

श्रम संस्कृति पार्टीका नेता तथा कार्यकर्ताले गैर–राई समुदायका व्यक्तिले समेत बुझने तहमा ‘बोखा’ लाई चर्चित भाषा बनाएका छन् । चुनावका कारण जनजनले बुझ्ने गरी ‘बोखा’ शब्द स्थापित भएको चाम्लिङ भाषाविज्ञ एवं सीमित मासिकका सम्पादक तिलक चाम्लिङ बताए ।

निर्वाचनको बेला भोजपुरका नेता एवं पूर्वमन्त्री सुदन किरातीले ‘एक भोट बाखादा, एकभोट आँखादा’ भन्दै मातृभाषामा भोट मागेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता किरातीकै फेसबुकमा फागुन–१६ गते पोष्ट गरिएको भिडियोमा राई भाषा प्रयोग गरेर भोट मागिरहेको देखिन्छ ।

हुन त जिल्लामा बिगतमा राजनीतिक दल तथा तिनका उम्मेदवारले मतदाताको सम्बन्धित भाषा प्रयोग गरेर भोट माग्ने गरेका थिए तर, यसपल्ट सबैले बुझ्ने गरी ‘बोखा’ शब्द प्रयोग भएको छ । निर्वाचनको बेला प्रयोग गरिएको ‘बोखा’ शब्द अहिले सबैको जनजिब्रोमा झुण्डिएको छ ।

परिणाम श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई पुराना दलको बिरासत भत्काउन सफल भएका छन् । श्रम संस्कृति पार्टीका महासचिवसमेत रहेका आरेनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार देवविक्रम राईलाई तीन हजार ८९८ मतले पछाडि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

विशेषगरी नेपाली खस भाषालाई सहजै बुझ्न कठिन हुने भाषिक समुदायका वक्तालाई राजनीतिक दलका नेताहरूले उनीहरूकै भाषा जान्ने व्यक्तिमार्फत भाषामा बोलेर भोट माग्ने गरेका छन् । मतदातालाई उनीहरूकै भाषामा भोट माग्दा ‘विश्वास गर्ने र नजिक ठान्र्ने’ मनोविज्ञान छ ।

मतदाता फकाउन अन्य राजनीतिक दल तथा तिनका उम्मेदवारले समेत खस भाषा मात्र नभएर मातृभाषा प्रयोग गर्ने गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डा हरि रोकाको चुनावी घोषणापत्र १० भाषामा प्रकाशन गरिएको थियो ।

केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका २९ वर्षी आरेन १६ हजार ६१२ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा एमाले खोटाङका अध्यक्षसमेत रहेका उम्मेदवार देवबिक्रमले १२ हजार ७१४ तथा नेपाली कांग्रेसका उम्मेदवार वीरकाजी राईले ११ हजार ९५७ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार डा हरि रोकाले नौ हजार ४४३ प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दुई जना स्वतन्त्रसहित १५ जना उम्मेदवार रहेको जिल्लामा पूरा नै राजनीतिक दल (नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी) बीच प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरूले बताउँदै आएका थिए ।

प्रत्यक्षतर्फ एक लाख ४७ हजार १२० मतदाता रहेको खोटाङमा ११ जना उम्मेदवारको जमानत जफत भएको छ । जमानत जफत हुनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुद्र गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार सुनिल चाम्लिङ, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार ध्यानप्रसाद ढकाल, मङ्गोल नेशनल अर्गनाइजेशनका उम्मेदवार प्रयाग राई, राष्ट्रिय परिवर्तन पार्टीका उम्मेदवार मिरेश राई, मितेरी पार्टी नेपालका उम्मेदवार केशरमान चाम्लिङ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उम्मेदवार चन्द्रबहादुर बुढाथोकी ‘शैलेस’, जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राकेश राई, स्वतन्त्र उम्मेदवारहरू तिलकचन्द्र राई र डा राजकुमार राईको जमानत जफत भएको हो ।

दश स्थानीय तह रहेको खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो राजनीतिक दल बनेको छ । समानुपातिकतर्फ कूल ६३ हजार २५७ खसेको मतमध्ये श्रम संस्कृति पार्टी खोटाङले १८ हजार १३७ मत प्राप्त गर्दै जिल्लामा पहिलो राजनीतिक दलको मान्यता पाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =