दिवंगत पिताको जन्मदिनमा सुहाङ नेम्वाङः मेरा हरेक पाइलाहरू तपाईँले देखाउनुभएकै मार्गदर्शनमा छन्

काठमाडौं । एमाले नेता सुहाङ नेम्वाङले आफ्नो दिवंगत पिता सुवास नेम्वाङको जन्मदिनमा बुवाप्रति भावुक श्रद्धाञ्जली व्यक्त गरेका छन्
उनले स्टाटसमा लेखेका छन्, “बुबा, आज तपाईंको जन्मदिन । भौतिक रूपमा तपाईं हामीबीच हुनुहुन्न, तर नेपाली समाजको रूपान्तरणका लागि तपाईंले कोरेको मार्ग र छरेको उज्यालो आज पनि उत्तिकै सान्दर्भिक छ । देशको वर्तमान परिस्थितिमा धेरैले तपाईंको अभाव महसुस गरिरहेका छन् र तपाईंको दूरदृष्टिलाई स्मरण गरिरहेका छन् ।”
नेम्वाङले आफ्नो राजनीतिक यात्रा पिताद्वारा देखाइएको आदर्श र मार्गदर्शनमा आधारित भएको बताए । उनले थपे, “मेरा हरेक पाइलाहरू तपाईंले देखाउनुभएकै मार्गदर्शनमा छन् । तपाईंले छाडेर जानुभएका सिद्धान्त, मूल्य र मान्यताहरूलाई नै मूल मन्त्र मानेर म अघि बढ्ने निरन्तर प्रयत्न गरिरहेको छु । राजनीति फगत पद प्राप्तिको सोपान होइन, यो जनसेवाको कठोर जिम्मेवारी र राज्यप्रतिको अविचलित उत्तरदायित्व हो । त्यही जिम्मेवारी र जवाफदेहिताको भावसहित आज म जनताको बीचमा उभिएको छु ।”
साथै, उनले पिताको जन्मदिनको अवसरमा आफ्नो जीवनमा आदर्श, मूल्य र राष्ट्रप्रति समर्पणलाई मार्गदर्शन बनाउने प्रतिज्ञा पनि गरे ।








