सभामुखले मेरो कुरा नसुनी माइक काट्नुभयो: राजेन्द्र राई

काठमाडौं । प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा सभामुख डोलप्रसाद अर्यालले आफ्नो कुरा नसुनी माइक काटेको भन्दै असन्तुष्टि जनाएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा राईले ‘सभामुखज्यूले कान सुन्नुहुन्छ कि हुन्न ?’ भन्न थालेपछि सभामुख अर्यालले उनको माइक बन्द गराएका थिए । त्यसपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।

बैठक पुनः सुरु भएपछि बोल्ने समय पाएका सांसद राईले आफूले प्रयोग गर्न लागेको भाषा मिलाउने प्रयास गरिरहेकै बेला माइक काटिएको दाबी गरे । उनले सभामुखप्रति आफ्नो सधैं सम्मान र आदर रहेको दोहोर्‍याउँदै आवेगमा गरिने निर्णयले समस्या निम्त्याउने बताए ।

‘तपाईंप्रति मेरो सम्मान र आदर छ । तर मैले भाषा मिलाएर कुरा राख्न खोज्दै थिएँ । तपाईंले भनेको कुरा पनि मान्दै थिएँ । त्यही बेला मैले भन्न लागेको शब्द नै नसुनी माइक काटिदिनुभयो । कतिपय अवस्थामा आवेगमा निर्णय हुँदा पनि समस्या हुँदो रहेछ,’ राईले भने ।

उनले सांसदलाई आफ्नो धारणा राख्ने अधिकार हुनुपर्ने उल्लेख गर्दै आफू विधिविपरीत नबोलेको दाबी गरे ।

‘यत्रो सदनमा माननीयहरूले आफ्नो भावना राख्न पाउनुपर्छ । म विधिभन्दा बाहिर गएको थिइनँ । विधि मिच्ने काम सरकारले गरिरहेको छ । संसदले बोलाउँदा पनि प्रधानमन्त्री नआउनु विधिको उल्लंघन हो,’ उनले भने ।

सांसद राईले प्रधानमन्त्री बालेन्द्र साह संसदप्रति उत्तरदायी बन्न नसकेको आरोप लगाउँदै संसदले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री उपस्थित हुनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eleven =