मुहान क्षेत्रका बासिन्दाले पानी नपाए मेलम्चीको आपूर्ति रोक्छौँ: राजुनाथ पाण्डे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका स्थानीयले खानेपानी नपाए काठमाडौंतर्फको पानी आपूर्ति नै रोक्ने चेतावनी दिएका छन् ।
बुधबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पाण्डेले सुन्दरीजल र गोकर्णेश्वर क्षेत्रका स्थानीय बासिन्दा आफ्नै क्षेत्रमा रहेको आयोजनाको पानीबाट वञ्चित भएको भन्दै असन्तुष्टि जनाए ।
उनले गोकर्णेश्वर नगरपालिकाका १ देखि ९ वडासम्मका बासिन्दा पानीको अभावमा कष्टकर जीवन बिताउन बाध्य भएको बताए । खानेपानी वितरण प्रणालीमा कर्मचारी र प्राविधिकको मिलेमतोका कारण कतिपय टोलमा पानी पुग्ने र कतिपयमा नपुग्ने अवस्था रहेको उनको आरोप थियो ।
‘ड्याम गोकर्णेश्वरमा छ, तर त्यहाँका १ देखि ९ वडाका बासिन्दा पानी नपाएर तड्पिरहेका छन् । मुहान क्षेत्रका बासिन्दाले पानी खान नपाउने तर त्यहीँबाट अन्यत्र पानी पठाउने कार्य अब सह्य हुँदैन । यदि स्थानीयको समस्या तत्काल सम्बोधन भएन भने हामी ड्याम नै बन्द गरेर पानी रोक्न बाध्य हुनेछौँ । म अन्य नेताजस्तो आश्वासन मात्रै दिने पक्षमा छैन । गोकर्णका जनताले पानी पाएनन् भने म आफैँ अगाडि लागेर पानी रोक्नेछु,’ उनले भने ।
सांसद पाण्डेले आरुबारी क्षेत्रमा निर्माणाधीन २ करोड लिटर क्षमताको पानी ट्याङ्कीको ठेक्का रद्द भएर नयाँ प्रक्रियामा जान लागेको तथा दोस्रो चरणको पाइपलाइन विस्तारमा भइरहेको ढिलाइका कारण स्थानीय थप समस्यामा परेको बताए ।
उनले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र आयोजनामा कार्यरत इन्जिनियर तथा कर्मचारीलाई कार्यशैली सुधार्न आग्रह गर्दै कर्मचारीतन्त्रको ढिलासुस्ती र गैरजिम्मेवारीपनले जनतामा असन्तुष्टि बढाएको बताए ।
स्थानीयको समस्या तत्काल समाधान गर्न स्थलगत अनुगमन आवश्यक रहेको उल्लेख गर्दै उनले आफ्ना निर्वाचन क्षेत्रका जनताको माग बेवास्ता गरिए पाइप फुटाउने वा मुहानमै अवरोध गर्ने जस्ता कदम चाल्न पनि आफू पछि नहट्ने चेतावनी दिए ।








