मुस्ताङबाट २२ हजार केजी फोहोर सङ्कलन

मुस्ताङ । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले फोहोरमैला व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ ।
जिल्लाको घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा सङ्कलन भएको फोहरलाई एक्याप जोमसोमले गत वर्षदेखि व्यवस्थापन गर्न थालेको हो । एक्याप प्रमुख राजेश गुप्तका अनुसार आव २०८२/८३ को साउनदेखि असार अन्तिमसम्म जिल्लाका तीन पालिकामा सङ्कलन गरिएको २२ हजार १८९ केजी नकुहिने विभिन्न प्रकारका फोहरलाई ट्रकमा ढुवानी गरी जिल्ला बाहिर निकासी गरेको जानकारी दिए ।
एक्याप प्रमुख गुप्तका अनुसार चालु वर्षको बाह्र महिनामा मुस्ताङमा सङ्कलन भएको फोहरलाई दुई हजार ५८१ बोरामा राखेर पोखरातर्फ निकासी गरिएको हो ।
एक्याप जोमसोम कार्यालयका अनुसार चालु वर्षको भदौमा ६४४ केजी, कात्तिकमा ८६०, मङ्सिरमा एक हजार ५५६, पुसमा एक हजार ३५१, फागुनमा एक हजार ८८८, चैतमा दुई हजार ४६२, वैशाखमा दुई हजार २३० र असारमा छपटक गरी १० हजार ६५९ केजी फोहोरपोखरास्थित ग्रिन रोड वेस्ट मेनेजमेन्ट प्रालि प्रशोधन केन्द्रमा पठाइएको हो ।
एक्यापले गत वर्ष मुस्ताङका तीन गाउँपालिकामा सङ्कलित १० हजार १९० केजी फोहोरजिल्ला बाहिर निकासी गरेको थियो । गत वर्षको तुलनामा चालु वर्ष ९११७.७५० प्रतिशत बढी फोहोरमुस्ताङबाट निकासी भएको एक्याप प्रमुख गुप्तको भनाइ छ ।
एक्यापले धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङका तीन पालिकामा चालु वर्ष चारवटा फोहोरसङ्कलन केन्द्र पूर्वाधार निर्माण गरेको छ । जसमध्ये एक फोहोरसङ्कलन केन्द्रलाई अर्को स्थानमा स्थान्तरण गरिएको छ । गत वर्ष एक्यापले मुस्ताङका पर्यटकीय चहलपहल हुने क्षेत्रमा आठवटा फोहोरसङ्कलन केन्द्र निर्माण गरेको थियो ।
कार्यालय प्रमुख राजेश गुप्तले मुस्ताङमा पर्यटकको आगमन सङ्ख्या बर्सेनि वृद्धि भइरहेकाले सोहीअनुसार फोहोरसङ्कलनको मात्रा बढ्दै गइरहेको उल्लेख गर्नुभयो । मुस्ताङ भित्रिने पर्यटक तथा स्थानीयबाट उत्पादन हुने नकुहिने फोहरलाई पोखरास्थित प्रशोधन केन्द्रमा पठाउने गरिएको छ ।
यहाँका विभिन्न सङ्कलन केन्द्रमा जम्मा हुने नकुहिने फोहरको वर्गीकरण गरी सङ्कलन हुन नसक्दा आंशिक समस्या परेको एक्याप प्रमुख गुप्तको भनाइ छ । जिल्लामा समुदायस्तरका आमा समूह, गाउँसमाज र संरक्षण क्षेत्र व्यवस्थापन समितिलगायतले मासिक रूपमा सरसफाइ गरी फोहोरसङ्कलन गर्ने गरेको भए पनि टिन/क्यान, सिसाजन्य र प्लाष्टिकका फोहोरछुट्टाछुट्टै सङ्कलन नहुँदा समस्या परेको उनले बताए ।
जिल्लामा दुई वर्षअघि यहाँका पर्यटन व्यवसायी र समुदायले यहाँ उत्पादन हुने नकुहिने फोहोरखाल्डो खनी विर्सजन गरेकामा गत वर्षदेखि एक्याप कार्यालयको खर्चमा सङ्कलित जिल्ला बाहिर निकासी गर्न थालिएको हो ।
जिल्लालाई स्वच्छ, सफा र वातावरणमैत्री तुल्याउन आगामी वर्षहरूमा थप सङ्कलन केन्द्र निर्माण गर्दै जाने नीति लिइएको छ । जलवायु सङ्कट न्यूनीकरण गर्न एक्यापले मुस्ताङमा लक्षित वर्गहरूलाई इन्डक्सन चुलो र विभिन्न उपकरण वितरण गर्दै आइरहेको छ भने फोहरबाट हुने प्रदूषणले मानव स्वाथ्यमा पुर्याउन सक्ने असरका विषयमा समेत विभिन्न स्थानमा साइन पोस्टिङ गर्नेलगायतका काम गर्दै आइरहेको जनाएको छ ।








