प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्ता–ठोरीका नेपालीमाथि दबाब बढ्यो: सांसद गच्छदार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदारले प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिका कारण सुस्ता, ठोरीलगायत सीमा क्षेत्रका नेपाली नागरिकले भारतीय पक्षबाट दबाब र मानसिक त्रास खेप्नुपरेको आरोप लगाएकी छन् ।
बुधबार प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै सांसद गच्छदारले प्रधानमन्त्री साहले ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिएपछि सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरू समस्यामा परेको दाबी गरिन् ।
उनले प्रधानमन्त्रीले संसदलाई बेवास्ता गरिरहेको आरोप लगाउँदै उक्त अभिव्यक्तिबारे स्पष्टिकरण दिन संसदमा उपस्थित गराउन सभामुख देवराज घिमिरेले रुलिङ गर्नुपर्ने माग गरिन् ।
‘प्रधानमन्त्रीको हलुका बोलीका कारण आज सुस्ता र ठोरीका सोझा नेपालीहरू सीमापारिको चर्को दबाब र मानसिक त्रास झेल्न बाध्य छन् । संसदलाई बेवास्ता गर्ने यो आलटाल नीति कहिलेसम्म चल्ने हो ? होइन भने सभामुखले रुलिङ गर्नुपर्यो,’ उनले भनिन् ।
सांसद गच्छदारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीमाथि सरकारले अमानवीय व्यवहार गरेको आरोप पनि लगाइन् । पाँच दिनको अल्टिमेटम र २५ हजार रुपैयाँको प्रलोभन देखाएर उनीहरूलाई उठीबास लगाउने प्रयास भएको उनको भनाइ थियो ।
‘५ दिनको अल्टिमेटम र २५ हजारको लोभ देखाएर होल्डिङ सेन्टरका सुकुम्बासीलाई ओतबाटै लखेट्नु, खाना खोसिनु सरकारको अमानवीयताको पराकाष्ठा हो । यस्ता निर्णयका कारण विस्थापित नागरिक आत्महत्या गर्न बाध्य छन् । जनतालाई यस्तो दुःख दिने सरकारलाई कसरी जनताको सरकार भन्ने ?’ उनले भनिन् ।
सांसद गच्छदारले वर्तमान सरकारले विशेषगरी गरिब तथा विपन्न नागरिकलाई पीडा दिएको आरोप लगाउँदै यसलाई जनमुखी सरकार भन्न नमिल्ने जिकिर गरिन्।








