१५ दिनभित्र खानेपानी आपूर्तिको स्पष्ट कार्ययोजना पेश गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । संघीय संसद्को पूर्वाधार विकास समितिले मुलुकभरका नागरिकलाई स्वच्छ तथा गुणस्तरीय खानेपानीको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई १५ दिनभित्र स्पष्ट कार्ययोजनासहितको विवरण पेश गर्न निर्देशन दिएको छ ।

बुधबार बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले खानेपानी तथा पूर्वाधार विकाससँग सम्बन्धित मन्त्रालय र निकायलाई कार्ययोजना, समयसीमा र कार्यान्वयनको अवस्थासहितको विवरण उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

बैठकमा सभापति गजुरेलले ७७ वटै जिल्लाका करिब ३ करोड नागरिकले पर्याप्त र स्वच्छ खानेपानी कहिलेसम्म पाउने भन्ने विषयमा सरकारसँग ठोस जवाफ माग गरे । उनले काठमाडौं उपत्यकालगायत देशभर खानेपानीको समस्या दिनप्रतिदिन जटिल बन्दै गएको उल्लेख गर्दै स्वच्छ खानेपानी उपलब्ध गराउनु राज्यको प्राथमिक दायित्व भएको बताए ।

‘आम नागरिकलाई शुद्ध खानेपानी कहिलेसम्म उपलब्ध हुन्छ भन्ने प्रश्नको ठोस उत्तर अझै प्राप्त हुन सकेको छैन । त्यसैले आगामी १५ दिनभित्र स्पष्ट कार्ययोजना र समयसीमा (टाइमलाइन) सहितको विवरण उपलब्ध गराउन हामी निर्देशन दिन्छौँ । प्राप्त कार्ययोजनाका आधारमा समितिले नियमन र अनुगमनको प्रक्रिया अगाडि बढाउनेछ,’ सभापति गजुरेलले भने ।

समितिले सम्बन्धित आयोजनाका प्रमुखहरूसँग समन्वय गरी छिट्टै स्थलगत अनुगमन गर्ने तयारी पनि गरेको छ । यसका लागि सरोकारवाला निकायलाई आफ्नो प्राथमिकता, योजना र आयोजनाको अवस्थाबारे जानकारी उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरिएको छ ।

बैठकमा सडक सुरक्षा विधेयक तथा विपद्का समयमा यातायात प्रणाली सञ्चालनको विषयमा पनि छलफल भएको थियो । यस सम्बन्धमा मन्त्रालयबाट आवश्यक काम भइरहेको जानकारी प्राप्त भएको र समितिले त्यसको निरन्तर अनुगमन तथा फलोअप गर्ने सभापति गजुरेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + nine =