सुनिल शर्माको घरदैलो अभियान तीव्र (भिडिओ)

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. सुनिल शर्मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि घरदैलो अभियानमा सक्रिय भएका छन् ।
मोरङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका उनले चुनावी प्रचार–प्रसारलाई तीव्र बनाउँदै घरदैलो अभियान सुरु गरेका हुन् ।
यो क्षेत्रबाट २०७९ को आम निर्वाचनमा पनि डा. शर्मा विजयी भएका थिए । जसमा उनले एमालेका भानुभक्त ढकाललाई ठुलो मतान्तरले पराजित गरेका थियो । स्थानीय मतदाताहरूले उनलाई स्वास्थ्य र विकासको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने नेता मान्छन् । उनले विपन्न तथा निम्न वर्गका बिरामीहरूलाई निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको स्थानीयहरूको भनाइ छ ।
चुनावी अभियानका क्रममा डा। शर्माले घर–घर पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै सर्वसुलभ स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा, स्थानीय विकास, रोजगारी सिर्जना र विपन्न वर्गको उत्थानलाई मुख्य एजेण्डा बनाएका छन् ।
उनले आफ्नो निर्वाचन क्षेत्रका विपन्न परिवारहरूलाई निरन्तर निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्यौएका छन् ।
उनले क्षेत्रमा अस्पताल, स्कुल, सडक, पुल तथा अन्य पूर्वाधार विकासमा थप लगानी गर्ने प्रतिबद्धता पनि गरेका छन् । घरदैलो अभियानमा सहभागी मतदाताहरूले डा। शर्मालाई जिताएर पठाउने बताउँदै आएका छन् । डा। शर्माले मतदातासँगको भेटमा काँग्रेसको बदलिएको छवि र सुशासनको पक्षमा पनि जोड दिएका छन् ।
उनले ७० हजारभन्दा बढी मत प्राप्त गरेर बलियो जनादेशसहित जित्ने लक्ष्य राखेका छन् । जसले संसदमा आफ्नो आवाजलाई थप प्रभावकारी बनाउने उनको विश्वास छ ।










