सहिदहरूले देखाएको मार्गचित्रमा अघि बढौँ: सुनिता डंगोल (भिडिओ)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सहिदहरूले देखाएको मार्गचित्रमा सबै निकायको सहयोग र समन्वयमा एकीकृत योजना बनाई अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएकी छिन् ।
सहिद दिवसका दिन काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले सहिदहरूले देखाएको मार्गचित्रमा अघि बढ्नुपर्ने बताएकी हुन् । डंगोलले सहिदहरूले दिएको बलिदानको जगमा टेकेर शासन, स्वतन्त्रता र स्वाधीनताको उपयोग गरिरहेको बताइन् । डंगोलले विश्वको शासन व्यवस्थामध्ये उत्कृष्ट व्यवस्था, लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास सहिदहरूको बलिदानकै कारण सम्भव भएको बताइन् ।
नागरिक अधिकार, समावेशिता र समावेशीकरणको प्रयोग सहिदहरूकै बलिदानका कारण सम्भव भएको जिकिर गरिन् । कार्यवाहक प्रमुख डंगोलले यो उपलब्धि युवाहरूका लागि त्याग र समर्पण सम्झाउने दिन भएको बताइन् । सहिदहरूको बलिदानबाट राजनीतिक नेता, कार्यकर्ता र आम नागरिकले प्रेरणा लिन सक्नुपर्ने बताइन् । नागरिक अधिकार, समावेशिता र समावेशीकरणको प्रयोग शहीदहरूले नेपाल र नेपालीका लागि दिएको सुन्दर उपहारका रूपमा रहेको जिकिर गरिन् ।
डंगोल भन्छिन्, ‘जहाँनिया राणा शासनको अन्त्य र जनताको स्वतन्त्रता, स्वाधीनताका लागि शहीदहरूले बलिदान दिनुभयो । त्यही बलिदानको जगमा टेकेर आज हामी सबै जनाले शासन, स्वतन्त्रता र स्वाधीनताको उपयोग गरिरहेका छौँ । अर्थात् विश्वको शासन व्यवस्थामध्ये उत्कृष्ट व्यवस्था, लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास गरिरहेका छौँ । विक्रम संवत् २०१२ सालदेखि काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा शहीद सप्ताहको समारोह समिति गठन गरेर स्मृति सभा लगायतका कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन हुँदै आइरहेको छ । यसै सन्दर्भमा माघ १० गते शहीद शुक्रराज शास्त्रीले शहादत प्राप्त गरेको स्थान टेकु पचली, माघ १३ गते धर्मभक्त माथेमाले शहादत प्राप्त गरेको स्थान शोभा भगवती र माघ १५ गते शहीद दशरथ चन्द र शहीद गङ्गालाल श्रेष्ठले शहादत प्राप्त गरेको स्थान सिफलमा श्रद्धाञ्जली सभाको आयोजना गरिरहेका छ । काठमाडौँ महानगरपालिकाले शहीदहरूले शहादत प्राप्त गरेका ठाउँहरूको संरक्षण गर्ने, महत्व प्रवर्द्धन गर्ने क्रममा चार वीर सहिदहरूको पूर्ण कदको शालिक निर्माण पनि गरिएको छ । त्यसैगरी, धर्मभक्त माथेमा, उहाँको जन्मथलो ओन्वालमा धर्मभक्त पार्क पनि बनाइएको छ । पार्कमा उहाँको सम्पूर्ण, उहाँको पूर्ण कदको शालिक रहेको छ । महानगरपालिकाको सहकार्यमा निर्माण गर्न लागिएको मानव सेवा आश्रमको नामाकरण धर्मभक्त माथेमा, उहाँको स्मरण र उहाँको नामबाट नै हुनेछ । गङ्गालाल हृदय केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गरेका छौँ । त्यसबाट शहीदका नामबाट सञ्चालित सेवा प्रदायक ठाउँबाट नागरिकहरूले सहज सेवा पाउन सकुन् भन्ने कुरामा पनि हामी प्रतिबद्ध छौँ । शहीदहरूले देखाएको मार्गचित्रमा सबै निकायको सहयोग र समन्वयमा एकीकृत योजना बनाई अगाडि बढ्नुपर्ने पनि आवश्यकता छ । आज हामी जहाँ छौँ, जुन अवस्था र व्यवस्थामा छौँ, नागरिक अधिकार, समावेशिता र सँगसँगै समावेशीकरणको प्रयोग गरिरहेका छौँ । यो उहाँहरूकै बलिदानबाट प्राप्त भएको हो । यो उपलब्धि युवाहरूका लागि त्याग र समर्पण सम्झाउने दिन पनि हो । यसबाट राजनीतिक नेता, कार्यकर्ता र आम नागरिकले प्रेरणा लिन सक्नुपर्दछ । नागरिक अधिकार, समावेशिता र समावेशीकरणको प्रयोग शहीदहरूले नेपाल र नेपालीका लागि दिएको सुन्दर उपहारका रूपमा छ । शहीदहरूलाई दिन विशेष सम्झना गर्नुभन्दा उहाँहरूबाट ऊर्जा लिएर व्यवस्था र शासन सञ्चालनमा दैनिक प्रभाव देखिन, प्रभावकारिता र सँगसँगै काममा पनि देखिन सकियोस् भन्ने पनि कामना गर्दछौँ । यसका निम्ति म आफ्नो पदले जिम्मेवारी अनुरूप इमानदार भएर काम गर्ने प्रण गर्दछु ।’
डंगोलले सहिदहरूलाई दिन विशेष सम्झना गर्नुभन्दा उहाँहरूबाट ऊर्जा लिएर व्यवस्था र शासन सञ्चालनमा दैनिक प्रभाव देखिने गरी काम गर्नुपर्ने बताइन् ।










