केपी ओलीसँग चुनाव लड्ने तयारीमा बालेन, रास्वपा झापा अध्यक्षसँग गरे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी पक्का गरेको बताएका छन् ।

आइतबार ललितपुर–१०, ज्वागलस्थित आफ्नो सचिवालय सदस्य कुमार बेनको घरमा झापा जिल्लाका रास्वपा नेताहरूसँग डेढ घण्टा लामो छलफल गरेका हुन् ।

झापा रास्वपा अध्यक्ष प्रकाश पाठक, सचिव शम्भु सुस्केरासहितको टोलीसँगको भेटमा बालेनले आफू झापा–५ बाट उम्मेदवारी दर्ता गर्ने स्पष्ट बताएका थिए । पाठकले भने, ‘हामी पार्टी सभापति रवि लामिछानेसहित नेतृत्वसँग कुराकानी गर्न काठमाडौं आएका थियौं । यही क्रममा मेयर बालेनसँग पनि छलफल गरौं भनेर गएका थियौं । उहाँले झापा–५ बाट लड्ने निधोमा पुगिसकेको बताउनुभयो ।’

छलफलका क्रममा बालेनले आफ्नो टिमले झापा–५ को स्थानीय वस्तुस्थिति, विकास निर्माण, पुराना दलहरूको प्रभावलगायतको सामान्य सर्वेक्षण गरेको जानकारी दिए ।

उनीहरूले स्थानीय आवश्यकता र नागरिकको चाहना समेटेर ब्लुप्रिन्टजस्तो सामग्री पनि तयार पारेको बताएका थिए । बालेनले रास्वपा जिल्ला कमिटीले पनि केही तयार पारेको भए त्यसको खाका पठाउन आग्रह गरेका छन् ।

झापा–५ एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । ओलीले यहाँबाट पटक–पटक चुनाव जित्दै आएका छन् ।

यद्यपि, २०६४ को संविधानसभा निर्वाचनमा भने तत्कालीन माओवादी उम्मेदवारसँग पराजित भएका थिए । बालेनको यो निर्णयले ओलीसँग प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया

One thought on “केपी ओलीसँग चुनाव लड्ने तयारीमा बालेन, रास्वपा झापा अध्यक्षसँग गरे छलफल

  1. बालेन जी ले झापा ५ बाट पनि लड्नुपर्छ तर सँग सँगै काठमाडौंबाट पनि लड्नुपर्छ किनकी यो नेपाल हो यहाँ जनता र पार्टीय संस्कार त्यति सबल छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − six =