भदौ २३ र २४ गते नेपालमा प्रतिक्रान्ति भयो, निर्वाचन हुँदैन : पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जेनजीको नाममा भदौ २३ र २४ गते नेपालमा प्रतिक्रान्ति भएको आरोप लगाएका छन् ।
प्रेस चौतारी नेपालले सोमवार आयोजना गरेको कार्यक्रममा उनले जेनजीको नाममा वाह्य शक्तिहरुले नेपाललाई कब्जामा लिएको आरोप लगाए । उनले नेपालका तीन वटै संस्थलाई कोल्याप्स पारिएको बताए ।
निर्वाचित प्रधानमन्त्रीलाई राजिनामा गर्न बाध्य बनाएर संविधान विपरित नयाँ सरकार गठन गरी संसद विघटन गर्न लगायर व्यवस्थापिका र कार्यपालिकालाई आफ्नो हातमा लिएको र न्यायपालिकालाई जलाएर तहसनहस पारिदिएको बताए ।
उनले यो प्रतिक्रान्तिलाई सच्याउन एमाले लागेको दाबी गरे । निर्वाचनबाट वा विघठित संसद पुनःस्थापना गरेर भएपनि एमालेले प्रतिक्रान्ति सच्याउने उनको भनाई छ । यद्यपि यो सरकारले घोषणा गरेको मितिमा निर्वाचन नहुने उनको दाबी छ ।
उनले प्रतिक्रान्ति भएका मुलुकमा बनेका सरकारले घोषणा गरेको मितिमा चुनाव हुन नसकेको धेरै उदाहरणहरु रहेको बताए । विदेशी शक्तिले चाहेको पात्र नभेटेसम्म निर्वाचन नहुने उनले ठोकुवा गरे । हालसम्म वाह्यशक्तिले नेपालमा आफूले चाहेको जस्तो पात्र नभेटेको उनको दाबी छ ।
उनीहरुले खडा गरेका पात्रले निर्वाचन जित्ने अवस्था नभएसम्म निर्वाचन सार्न उनीहरुले अनेक प्रयत्न गर्ने उनले बताए । निर्वाचन नगर्नको लागी नै नेकपा एमालेका नेताहरुलाई स्थानहद तोक्ने काम भएको उनको भनाई छ ।
उनले एमाले पार्टी निर्वाचनबाट कहिल्यै नभाग्ने बताए । एमाले चुनावबाट भाग्ने खोजेको भनेर भ्रम पारिएको उनको भनाई छ ।








