सरकारले समयमै निर्वाचन गर्नुको विकल्प देखेको छैन: मन्त्री सिन्हा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले आगामी फागुन २१ मा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी बोधका साथ अघि बढेको बताएका छन् ।

मुलुकमा तोकिएको मितिमा नै निर्वाचन हुँदैन कि भन्ने आशंका भइरहेका बेला उहाँले निर्वाचन सम्पन्न गराउने मुख्य ध्येयका साथ सरकार अघि बढिरहेको बताएका हुन् ।

सोमवार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री सिन्हाले जेन–जी आन्दोलनपछि संविधानलाई सही बाटोमा अघि बढाउनका लागि निर्वाचन गराउने उद्देश्यले वर्तमान सरकार बनेको स्पष्ट पारे ।

उनले मुलुकलाई निकास दिन निर्वाचनको विकल्प नरहेको समेत दोहोर्याए ।

मन्त्री सिन्हाले भने ‘जेन–जीको एउटा घटनाक्रम आयो । त्यो परिस्थितिले गर्दा ट्रयाकबाट संवैधानिक प्रक्रियाहरू डाइभर्ट भएको अवस्थामा यसलाई कसरी संवैधानिक प्रक्रियामा नै लिएर आउने भन्ने सन्दर्भमा जिम्मेवारी बोकेर हामी आएका छौँ । हामीले अहिलेसम्म देखेको भनेको चुनाव नै देखेका छौ । चुनावको माध्यमबाट पुनः यसलाई ट्रयाकमा पठाएर हामीहरूले आफ्नो जिम्मेवारी पूरा गर्ने उद्देश्य रहेको छ । त्यो काम हुँदाहुँदै पहिलादेखि चलिआएका कतिपय विषयहरू छन् । जस गति नलिएको अवस्थाहरू छन् । २०५२/५३ सालदेखिका एउटा दलित सम्बन्धी कानुन अझै निर्माण हुन सकेको छैन । त्यसको निर्माणमा हामीले ध्यान दिन्छौँ ।’

मन्त्री सिन्हाले मूलकलाई शान्ति र विकासको बाटोमा अघि बढाउन ढिलाइ नगर्न पनि तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुपर्ने तर्क गरे । त्यस अवसरमा उहाँले दलित सम्बन्धी कानुन निर्माणमा पनि आफूले उचित ध्यान दिने आश्वासन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =