ओली सरकारका दुई पूर्वमन्त्रीविरुद्ध घूस प्रकरणमा विशेष अदालतमा मुद्दा दर्ता हुँदै

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका दुई मन्त्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गर्न लागेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रहेकी रञ्जिता श्रेष्ठविरुद्ध घूस प्रकरणमा मुद्धा दायरको प्रक्रिया अन्तिम चरणमा पुगेको अख्तियार स्रोतले जनाएको छ ।

दुई पूर्वमन्त्रीसँगै ५ जना विचौलियालाई समेत प्रतिवादी बनाइएको छ । उनीहरूलाई पोखराको चर्चित लिचीबारी जग्गा प्रकरणमा घूस लेनदेनमा संलग्न रहेको आरोप छ ।

गुप्ताले कास्कीस्थित मालपोत कार्यालय प्रमुखको सरुवा गरिदिने र आफूले चाहेको व्यक्तिलाई नियुक्त गर्ने आश्वासन दिँदै ५३ लाख रुपैयाँ घूस लिएको अडियो गत असार २८ गते सार्वजनिक भएको थियो । त्यसपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

यसै घटनामा पूर्वभूमि मन्त्री रञ्जिता श्रेष्ठले पनि पटक–पटक रकम लिएको प्रमाण फेला परेको आयोगको भनाइ छ । उनीमाथि ‘मलाई क्यास चाहियो, ड्राइभर पठाइदिन्छु’ भन्ने म्यासेजमार्फत रकम मागेको प्रमाण अख्तियारमा पेश भएको स्रोतले बताएको छ ।

भूमि मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेलले समेत रकम लिएको विवरण बाहिरिएपछि अख्तियारले उनको पनि संलग्नतामाथि अनुसन्धान अघि बढाएको छ ।

यसअघि भूमि मन्त्रालयकै अर्को मन्त्री बलराम अधिकारीमाथि पनि पोखराका सुजन लामासँग मिलेर घूस लिएको आरोप लागेको थियो ।

लिचीबारी प्रकरणले राजनीतिक तहदेखि प्रशासनिक संरचनासम्मको मिलोमतो उजागर गरेको छ । यो मुद्दालाई अख्तियारले गम्भीर रूपमा लिएको जनाउँदै स्रोतले भन्यो ‘मुद्दा तयारी अन्तिम चरणमा छ, चाँडै विशेष अदालतमा दर्ता हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + seven =