जेनजी आन्दोलनमाथि एमाले नेता गैरेको कडा टिप्पणी- छानबिन गरी दोषीलाई कारबाही गर्न माग

काठमाडौं । नेकपा (एमाले) का नेता ठाकुर गैरेले जेन–जी आन्दोलनको नाममा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भएको आक्रमणको सत्यतथ्य छानबिन गरी दोषीलाई कानूनी कारबाही गर्नुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

लोकतान्त्रिक प्रणालीमा राजनीतिक दल नै मूल आधार भएको उल्लेख गर्दै उनले दलहरूले आफ्ना कमजोरी सच्याउँदै देशलाई बलियो लोकतन्त्रको दिशामा लैजानुपर्नेमा जोड दिए। राजनीतिक दलहरूले आत्ममूल्याङ्कन गर्दै सुदृढ भएर जनतामाझ जानुपर्ने आजको आवश्यकता रहेको उनको भनाइ छ। उनले जेन—जी पुस्ताका मागहरू सम्बोधन गर्नका लागि जेन—जीका अगुवाहरूलाई पार्टी कार्यालयमा बोलाएर आवश्यक छलफल गर्नुपर्ने बताए।

गैरेले भने, ‘जेनजी पुस्ताको आन्दोलनको नाममा जसरी कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि हमला भयो, धावा बोलियो र देशलाई नै तहसनहस बनाउने काम भयो, योप्रति दुःख व्यक्त गर्न चाहन्छु। यो घटनाको बारेमा निष्पक्ष छानबिन गरेर त्यसमा रहेका दोषीहरूलाई कडाभन्दा कडा कारबाही गर्ने र देशले न्याय पाउने परिस्थिति निर्माण होस् भन्ने म अपेक्षा पनि गर्दछु। लोकतान्त्रिक शासन प्रणालीमा दलहरू नै मुख्य कुरा हो र यी सबै जनताका मुद्दाहरूको नेतृत्व गर्ने र जनतामार्फत निर्वाचित भएर आएकाहरूले देशको नेतृत्व गर्ने हाम्रो प्रणाली हो। यसको लागि नेकपा एमाले र अन्य दलहरूले गम्भीरतापूर्वक समीक्षा गरेर दलहरूमा कुनै कमी रहेको छ भने सच्याएर जाने प्रतिबद्धता गर्ने, राज्य प्रणालीको तर्फबाट भएका कमीको पहिचान गरेर दोहोरिन नदिने र देशको सर्वोपरी हितको लागि सबै प्रतिबद्ध भएर भोलिको दिनमा हामी लोकतन्त्रलाई फेरि हामी बलियो बनाउन चाहन्छौं। जेनजी पुस्ताका मागका सम्बन्धमा जेन—जीका प्रतिनिधिहरूलाई पार्टी कार्यालयमा बोलाएर उहाँहरूको कुरा सुन्ने र जेन—जी पुस्ताका मागहरूलाई सम्बोधन गरेर अगाडि बढ्ने प्रतिबद्धता गर्ने आवश्यकता आजको दिनमा देखापरेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =