कार्यालय खरानी भयो, तर इच्छाशक्ति अझै बलेकै छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान दिवसका अवसरमा आयोजित एक कार्यक्रममा पार्टीको केन्द्रीय कार्यालयमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै, एमालेको इच्छाशक्ति अझै नमरेको र पार्टी थप ऊर्जाका साथ अघि बढ्ने उद्घोष गरेका छन् ।  च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् ।

‘यो चुनौती देखेर आत्तिनु र हताश हुनुपर्दैन । यो चुनौती सामना गरेर नेकपा एमाले फेरि अगाडि बढ्छ,’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘हाम्रो कार्यालय डढेर खरानी भयो । तर हाम्रो इच्छाशक्ति मरेको छैन । हाम्रो इच्छाशक्ति कहिले मर्ने छैन ।’

उनले कार्यालयमा भएको आगलागीलाई एक दुर्भाग्यपूर्ण घटनाका रूपमा चित्रण गर्दै यसले मुलुकलाई ठूलो क्षति पुर्‍याएकोमा दुःख व्यक्त गरे । यद्यपि, एमालेका नेता तथा कार्यकर्ताहरू यस्ता चुनौतीबाट कहिल्यै विचलित नहुने उनको दृढता थियो । ‘हामी यो ठाउँमा शान्त ठाउँमा ढुङ्गा चलाए जसरी आएका होइनौं । हामीले प्रत्येक कालखण्डमा चुनौतीहरूको सामना गर्‍यौं,’ पोखरेलले पार्टीको ऐतिहासिक संघर्षलाई स्मरण गर्दै भने, ‘ती चुनौतीहरू कतिपय हाम्रा आफ्नै कमजोरीका कारण थिए भने त्यससँगसँगै बाहिरी विरोधी शत्रु र बैरीहरूले समेत खडा गरेका थिए । ती सबै चुनौतीहरूको सामना गरेर नेकपा एमाले एउटा गौरवशाली रूपमा अगाडि आइपुगेको हो ।’

उनले संविधान दिवसको महत्त्वमाथि प्रकाश पार्दै यो संविधान कसैले दान गरेको उपहार नभई नेपाली जनताले वर्षौंदेखिको संघर्षपश्चात् प्राप्त गरेको ऐतिहासिक उपलब्धि भएको बताए। संविधान दिवस मुलुकलाई नयाँ उचाइमा पुर्‍याउन नेपालीले गरेको सङ्कल्पको दिवस रहेको उनको भनाइ थियो । ‘जस्तोसुकै परिस्थिति आए पनि हामी यो राष्ट्रिय दिवसमा एकता भएर अगाडि बढ्छौं,’ पोखरेलले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =