दीपकराज गिरी र सन्तोष सेनबीच फेसबुकमा जुहारी, को बाघ, को स्याल ?

काठमाडौं । नेपाली फिल्म क्षेत्रका चर्चित अभिनेता दीपकराज गिरी र निर्माता–निर्देशक सन्तोष सेनबीच सामाजिक सञ्जालमा जुहारी चर्किएको छ । फिल्म प्रचारको सन्दर्भमा सुरू भएको यो बहस अहिले आरोप, व्यंग्य र भावनात्मक अभिव्यक्तीसम्म पुगेको छ ।
विवादको सुरुवात अभिनेता दीपकराज गिरीको एक फेसबुक स्टाटसबाट भएको थियो । उनले लेखे, ‘आफ्नो फिल्मको प्रचार गर्नुको साटो अरूको फिल्म लाइ गालि गर्न लगाउने काम बन्द गरौं ! आफ्नो हिरो बाघ ! अरूको स्याल ? याद गरौं बाघ पनि जनावर नै हो ! ’ उनले कसैको नाम उल्लेख नगरे पनि उक्त भनाइ निर्देशक सन्तोष सेनतर्फ लक्षित थियो ।
यो स्टाटसपछि सन्तोष सेनले सामाजिक सञ्जालमै भावुक शैलीमा प्रतिक्रिया जनाए । ‘दिपकराज गिरी, तिम्रो सोचमै पाप छ,’ भन्दै सुरु गरिएको स्टाटसमा सेनले गम्भीर आरोपहरू लगाएका छन् । ‘कसैलाई कमेन्ट गर्न लगाएर लाखौँ दर्शकको भावनासँग खेलबाड गर्ने तुच्छ सोच पालेको छौ, त्यो काम नगर,’ सेनले भनेका छन् ।
उनले बलिदान २ को पोस्टमा आउने नकारात्मक कमेन्टहरू गिरीको समूहबाट भएको आशंका पनि गरेका छन् ।
‘यदि मैले कहिल्यै कसैलाई नकारात्मक कमेन्ट गर्न लगाएको छु भने, मैले ‘बलिदान’को सुरुवात नै कालीमाताको चरण छोएर गरेको हुँ, यसै क्षण मेरो जीवन अन्त्य होस्,’ भन्दै उनले कसम समेत खाएका छन् ।
सन्तोष सेनको यस्तो गम्भीर आरोपपछि दीपकराज गिरी फेरि फेसबुकमा उत्रिएका छन् । उनले छोटो तर व्यंग्यात्मक शैलीमा लेखेका छन्– ‘चोरले खुट्टा काट भन्दा खुट्टा उचाल्यो चोरले ! बिचरो न त व्यंग्य बुझ्छ ! न बौद्धिकता थाहा छ, बुरूक बरूक सॉढे उफ्रे झैँ उफ्रिन्छ ! माया लाग्छ ।’
पछिल्ला दिनहरूमा सामाजिक सञ्जाल नेपाली फिल्मकर्मीहरूबीचको व्यक्तिगत मतभेद सार्वजनिक गर्ने थलो बन्न थालेको छ । दुई चर्चित र सफल व्यक्तित्वबीच देखिएको यो वाकयुद्धले दर्शकहरूलाई पनि विभाजित बनाएको देखिन्छ ।








