फेसबुकमा एलिना–विष्णुको जुहारी, दुवैलाई चाहिएको छ न्याय !

काठमाडौं । गायिका एलिना चौहान र उनका पूर्वपति विष्णु सापकोटाबीच सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप चलिरहेको छ ।

पूर्वपति सापकोटाले सामाजिक सञ्जालमा जारी आलोचना र चरित्र हत्याको प्रयासले आफू मानसिक तनावमा परेको बताउँदै कानुनी प्रक्रिया सुरु गरिसकेको दाबी गरेका छन् । त्यसको जवाफमा गायिका चौहानले आफूमाथि गम्भीर अन्याय भएको भन्दै अब चुप नबस्ने चेतावनी दिएकी छन् ।

गायिका चौहानले बिहीबार फेसबुकमा लामो स्टाटस लेख्दै सम्बन्ध विच्छेद पछि विषय टुंगिएको भए पनि समाजको दबाब र सामाजिक सञ्जालको दुरुपयोगले पुनः पीडित बनाएको बताइन् ।

‘हामी बीचको कुरा आपसी समझदारीमै सकिएको थियो । तर समाजकै दबाब, सतही धारणा र सामाजिक सञ्जालको दुरुपयोगले फेरि मलाई त्यो विगतमा फर्कायो,’ उनले लेखिन्, ‘अब म चुप लाग्दिनँ । यो लडाइँ सत्यका लागि हो ।’

एलिनाले आफ्नो चरित्रको बचाउ गर्न बाध्य भएको उल्लेख गर्दै विगतका कुराले आजको जीवनलाई प्रभावित बनाउनु अन्याय भएको बताइन् ।

‘मैले मेरो विगत खोल्नुप¥यो– त्यो विगत जुन आज मेरो जीवनसँग सम्बन्धित छैन,’ उनले लेखेकी छन्, ‘म कानुनी प्रक्रियामा जान बाध्य भएँ ।’

उनले एउटा तस्बिर समेत सार्वजनिक गरेकी छन्, जसमा अनुहारमा डाम देखिन्छ र उनी बिरामी जस्तै देखिन्छिन् । तस्बिरसँगै उनले गहिरो मानसिक पीडा भोगेको संकेत गरेकी छन् ।

एलिनाले यो लडाइँ कुनै व्यक्तिगत व्यक्तिसँग नभइ, समाजमा व्याप्त पुरुषप्रधान सोचसँग भएको उल्लेख गरेकी छन् ।

विष्णुको प्रतिक्रिया : ‘गम्भीर मानसिक पीडामा छु’

पूर्वपति विष्णु सापकोटाले बुधबार फेसबुकमार्फत आफूविरुद्ध भइरहेको सामाजिक टिप्पणीप्रति गम्भीर आपत्ति जनाएका थिए ।

‘अलग बसेको लगभग १ वर्ष र सम्बन्ध विच्छेद भएको ६ महिना भइसक्दा पनि पुराना कुराहरू सामाजिक सञ्जालमा ल्याउन थालिएको छ, जसले मेरो व्यक्तिगत जीवन, परिवार र व्यावसायिक वातावरणमा नकारात्मक असर पु¥याइरहेको छ,’ उनले लेखेका छन् ।

विष्णुले आफूलाई गाली, धम्की र चरित्र हत्या गर्ने प्रयास भइरहेको दाबी गरेका छन् ।

‘गम्भीर मानसिक पीडाबाट गुज्रिरहेको छु,’ स्टाटसमा उल्लेख छ, ‘सम्बन्धमा आएको पीडालाई आत्म–संयमका साथ सहेर बसेको छु । यस्ता संवेदनशील विषयलाई सामाजिक सञ्जालमा बहस गर्नु उचित ठहर्दैन ।’

उनले कुनै बदला लिने मनसाय नरहेको, तर आफ्नो आत्म–सम्मान र प्रतिष्ठाको रक्षाका लागि कानुनी बाटो रोज्न बाध्य भएको बताएका छन् ।

‘अष्ट्रेलियामा कानुनी प्रक्रिया सुरु गरिसकेको छु,’ उनले स्पष्ट पारेका छन् ।

दुबै पक्ष आ–आफ्नो तर्फबाट कानुनी प्रक्रिया अगाडि बढाएको बताएका छन् । तर सामाजिक सञ्जालमा भने समर्थन र आलोचनाका दुई धार देखिन थालेका छन् ।

सम्बन्ध विच्छेद भइसकेको भए पनि सामाजिक सञ्जालमा चलेको यो जुहारी तत्काल थामिने संकेत भने देखिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 10 =