‘जिउँदो आकाश’ पुनः मञ्चमा, साउन १ देखि एक थिएटर नेपालमा प्रदर्शन

काठमाडौँ। बर्षौ अघि दर्शकको मन जित्न सफल नाटक ‘जिउँदो आकाश’ लामो अन्तरालपछि पुनः मञ्चन हुने भएको छ। दर्शकहरूको निरन्तर मागलाई मध्यनजर गर्दै एक थिएटर नेपालले साउन १ गतेदेखि १२ गतेसम्म थापागाउँस्थित आफ्नै मञ्चमा नाटक मञ्चन गर्न लागेको हो।
चन्द्र पाण्डेको लेखन तथा आर. के. मेहताको परिकल्पना एवं निर्देशनमा तयार भएको नाटक साइलेन्ट एक्टको सहकार्यमा पुनः मञ्चन हुन लागेको हो। यसपटक नाटकमा अभिनेता अनिल सुब्बा मुख्य भूमिकामा मञ्चमा उत्रिनेछन्।
एक थिएटर नेपालका अनुसार, ‘जिउँदो आकाश’ विगतमा दर्शकबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया पाएको नाटक हो। त्यसै लोकप्रियतालाई निरन्तरता दिँदै नयाँ पुस्ताका दर्शकमाझ पनि पुर्याउने उद्देश्यले पुनः मञ्चन गर्न लागिएको जनाएको छ।
नाटक साउन १ गतेदेखि १२ गतेसम्म बुधवार बाहेक हरेक साँझ ५:३० बजे प्रदर्शन हुनेछ। बुधवार नियमित प्रदर्शन नहुने छ भने प्रत्येक शनिवार दिउँसो १:३० बजे अतिरिक्त शो पनि राखिएको छ।
सामाजिक यथार्थ र मानवीय संवेदनालाई केन्द्रमा राखेर तयार गरिएको यस नाटकले दर्शकलाई सोच्न बाध्य बनाउने विश्वास आयोजकको छ। लामो समयपछि पुनः मञ्चमा फर्किन लागेको ‘जिउँदो आकाश’ले यसपटक पनि दर्शकको साथ र प्रशंसा पाउने अपेक्षा गरिएको छ।








