गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छु: धुर्मुस

काठमाडौँ । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राज्य सबै नागरिकको साँचो अभिभावक बन्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै धुर्मुसले लामो समयदेखि पीडा, निराशा र उकुसमुकुसबीच बाँचिरहेका आफूले गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देखेको बताएका छन् ।
‘गणेश नेपालीप्रति हार्दिक श्रद्धाञ्जली । लामो समयदेखि पीडा, निराशा र उकुसमुकुसका बीच बाँचिरहेको म, गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छु’ उनले लेखेका छन् ।
उनले देशमा सम्मानपूर्वक श्रम गरेर बाँच्न सकिने वातावरण निर्माण हुनुपर्नेमा जोड दिएका छन् । ‘राज्य सबै नागरिकको साँचो अभिभावक बनोस् । देशमा सम्मानपूर्वक श्रम गरेर बाँच्न सकिने वातावरण बनोस्’ धुर्मुसले भनेका छन् ।
उनले आगामी दिनमा कुनै पनि नेपालीले निराशाको अन्तिम विकल्पका रूपमा आत्मदाह गर्नुपर्ने अवस्था आउन नहुने बताएका छन् ।
‘फेरि कुनै नेपालीले निराशाको अन्तिम विकल्पका रूपमा आत्मदाह रोज्नुपर्ने अवस्था कहिल्यै नआओस्’ उनले लेखेका छन् ।








