चलचित्र समीक्षा

आ बाट आमा: भावनात्मक दर्शकलाई हेर्न लायक, सशक्त प्रस्तुति खोज्नेलाई हल्का बोरिङ

एक समय दर्शकबाट वाहवाही बटुल्न सफल अभिनेता पल शाहको करिअर चलचित्र ‘रामायण’पछि भने केही ओरालो लागेको देखिन्थ्यो । निरन्तर अपेक्षाअनुसारको सफलता आउन नसक्दा उनको फिल्मी यात्रामाथि प्रश्नहरू उठ्न थाले । यसबीच उनले अभिनय गरेको चलचित्र ‘मोहर’ ले भने उनलाई केही हदसम्म राहत दिलायो र फेरि दर्शकमाझ नयाँ आशा जगायो ।

अब, यसपटक पल शाहले चन्द्र पन्तद्वारा निर्देशित पारिवारिक तथा भावनात्मक ड्रामा ‘आ बाट आमा’ लिएर दर्शकमाझ उपस्थित भएका छन् । आमाको माया, त्याग र सम्बन्धको गहिराइलाई केन्द्रमा राखिएको यो चलचित्रले पल शाहको करिअरमा कस्तो प्रभाव छोड्ला? के उनले दर्शकको भरोसा फेरि जित्न सक्लान् त?

त्यसो भए, चलचित्र ‘आ बाट आमा’कस्तो बनेको छ त? आउनुहोस्, चर्चा गरौँ।

यस फिल्ममा अभिनिता पल शाहसंगै भारतीय चर्चित अभिनेता प्रदीप रावत, नेपाली कलाकारहरू बिपना थापा, उषा उप्रेती, सिमरन पन्त र साइग्रेस पोखरेल लगायतको अभिनय रहेको छ ।

फिल्ममा प्रदीप रावतले ‘वासुदेव’, बिपना थापाले ‘देवकी’, पल शाहले ‘कृष्ण’, उषा उप्रेतीले ‘राधा’ र सिमरन पन्तले ‘रुक्मिणी’ को होइन ‘श्री’ पात्रको भूमिका निभाएकी छन् ।

फिल्मको सुरुवात देवकी र वासुदेव दम्पतीको शान्त र आनन्दमय जीवनबाट हुन्छ । सबैथोक हुँदाहुँदै पनि उनीहरूको जीवनमा एउटा अपूरो पाटो छ—सन्तानको अभाव । समयसँगै, उनीहरूको सन्तानका रूपमा कृष्ण (पल शाह) जन्मिन्छन्।

कृष्ण र राधा बाल्यकालदेखि नै असल मित्र हुन् । उनीहरूको सम्बन्ध सरल र निश्छल छ । तर ब्याचलर पछि उनीहरूको जीवनले नयाँ मोड लिन्छ ।

राधा गाउँकै विद्यालयमा शिक्षिकाको रूपमा पढाउन थाल्छिन्, उता, कृष्ण भने लामो प्रयासपछि पनि कतै काम पाउन सक्दैनन् । असफलता, निराशा र भविष्यप्रतिको डरले उनलाई क्रमशः गलत निर्णयतर्फ धकेल्छ । अन्ततः अवैध बाटो हुँदै अमेरिका जाने निर्णय कष्णको जीवनको निर्णायक मोड बन्छ ।
यही निर्णयसँगै कथा नयाँ दिशातर्फ मोडिन्छ । पारिवारिक सम्बन्ध, सपना र यथार्थबीचको द्वन्द्वलाई समेट्दै चलचित्र क्रमशः कौतुहलता बोकेर अघि बढ्छ ।

सकारात्मक पक्ष
‘आ बाट आमा’ एक गहिरो भावनात्मक पारिवारिक ड्रामा हो, जसले नेपाली समाजको यथार्थलाई संवेदनशील ढंगले पर्दामा उतारेको छ । छोराले आफ्नो भविष्य सुरक्षित बनाउने चाहना, त्यसका लागि स्वदेशमै अवसर नपाउँदा विदेशिनु पर्ने बाध्यता, र त्यसबीच आमाबुबाप्रति मनभित्र लुकेको अपार माया—यी सबै भावनात्मक तहलाई चलचित्रले सशक्त रूपमा प्रस्तुत गर्छ ।

चलचित्रले आजको पुस्ताले भोगिरहेको विदेश मोह र त्यसले परिवारमा पार्ने मानसिक तथा भावनात्मक असरलाई सरल तर गहिरो रूपमा देखाउँछ । सन्तानको सफलताका लागि आमाबुबाले गर्ने निःस्वार्थ त्याग, उनीहरूको मौन पीडा र आशाले भरिएको प्रतीक्षा— फिल्म हेर्दा यी पक्षहरूले दर्शकलाई भक्कानिने गरी रुवाउँछन् ।

विशेष गरी, आमा–छोराबीचको सम्बन्धलाई फिल्मले अत्यन्त संवेदनशील ढंगले बुनेको छ । ममतामय सम्बन्ध चलचित्रको सबैभन्दा बलियो पक्ष हो । यही भावनात्मक गहिराइका कारण ‘आ बाट आमा’ केवल एउटा फिल्म मात्र नभई, धेरै नेपाली परिवारको प्रतिबिम्ब हो ।
समग्रमा भन्नुपर्दा , भावनात्मक अनुभूति खोज्ने दर्शकका लागि ‘आ बाट आमा’ एक अर्थपूर्ण र मन छुने चलचित्र हो।

नकारात्मक पक्ष
चलचित्र ‘आ बाट आमा’ मा भावनालाई दर्शकसम्म पुर्‍याउने प्रयास प्रशंसनीय भए पनि कतिपय स्थानमा त्यो प्रयास जबरजस्ती भावुक बनाउने दिशातर्फ गएको अनुभूति हुन्छ । कथा स्वाभाविक रूपमा भावनात्मक हुँदाहुँदै पनि केही दृश्यहरू अनावश्यक रूपमा तन्काइएको छ, जसले प्रभावभन्दा बढी थकान पैदा गर्छ ।
चलचित्रको सुरुआत र अन्त्य स्ट्रङ भएपनि करिब २ घण्टा ४० मिनेट अवधिको यो फिल्म मध्यभागमा पुगेपछि बोरिङ बन्छ । त्यसपछि सस्पेन्स होइन कथासँग डिस्कनेक्ट टाइपको फिल हुन्छ ।

साउथका चर्चित अभिनेता प्रदीप रावत जस्तो अनुभवी कलाकारलाई चलचित्रले अपेक्षाअनुसार प्रयोग गर्न सकेको छैन । उनको पात्र कथा अगाडि बढाउनेभन्दा पनि केवल भावुक दृश्यहरूका लागि सीमित भएको जस्तो देखिन्छ । अधिकांश दृश्यहरूमा आमा–छोराको रोदनमै केन्द्रित हुँदा भावनात्मक दोहोरिन पैदा हुन्छ, जसले चलचित्रलाई कताकता भारतीय मेलोड्रामाको झल्को दिन्छ ।

यद्यपि गीतहरू भने मन छुने खालका छन् र केही दृश्यहरू सुन्दर रूपमा खिचिएका छन्, तर समग्र संरचनामा सन्तुलनको कमी महसुस हुन्छ । निर्माता–निर्देशकले भावनात्मक प्रस्तुतिसंगै कथाको गति बीच अझ राम्रो तालमेल मिलाउन सकेका भए, ‘आ बाट आमा’ अझ प्रभावकारी र स्मरणीय बन्न सक्थ्यो ।

भावनात्मक चलचित्र मन पराउने दर्शकका लागि ‘आ बाट आमा’ एकपटक हेर्न लायक चलचित्र हो । तर सशक्त प्रस्तुति खोज्ने दर्शकलाई भने यो चलचित्र केही बोरिङ र लामो लाग्न सक्छ । समग्रमा भन्नुपर्दा ट्रेलर र टिजर हेरेपछिको पल शाहको फिल्मबाट अपेक्षा गरिएको उत्साह र भरोसा यस फिल्मले पूर्ण रूपमा पुरा गर्न सकेको छैन ।

फिल्म एभरेज खालको मात्र छ ।

प्रतिक्रिया

2 thoughts on “आ बाट आमा: भावनात्मक दर्शकलाई हेर्न लायक, सशक्त प्रस्तुति खोज्नेलाई हल्का बोरिङ

  1. Nepali move name matraka matra hunebhay. yo chai ramro hola vanera bidako din sadupayog hola vaneko ta niras matra. paul ji tapai khelnako lagi matra nakhelnus na yar. vayna ho vayna.

  2. नेपालका सबै मेकरलाई मेरो प्रश्नप्रश्न:म खासगरी देश बाहिर बस्छु केहिदिन देखि हाल काठमाडौं मा छु। मलाई एक जना चिनेको साथिले सुक्रबार मुभि हेर्न जाम है भन्यो हुन्छ भने, साथिले मलाई तिमि ले चिने जाने १५/२० जना बोलाउहै भन्यो । किन भने बोलाउन भन्यो ठिक छ नित भनेर चिनजानको साथिभाईलाई बोलाए। सोचेको थिए साथिको केहि बिसेस होला अनि धेरैलाई बोलायो होला भनेर सम्झे। हामि करिब ११ बजे तिर मुभि हल पुगिम साथिले त धेरैनै मान्छे बोलाएको रहेछ्। म अचम्ममा पर्दै सोधे के को खुसियालि हो? अनि पो साथिले कुरा खोल्यो एउटा हल भर्ने मेरो जिम्म छ टिकट मुभि बनाउनेले पठाको छ! म छक्क परे यस्तो नि हुन्छ? साथि भन्छ हेर भाई नेपालमा सुरु सुरुमा आफ्नो मान्छे पठाउने , हल भर्ने, कलकार बोलाउने, मिडिया बोलाउने , रुवाउने , राम्रो राम्रो बोलेको खिच्ने अनि भाइरल बनाउने , करिव 4/5 दिन यसो गर्ने अनि मात्र मुभि चल्छ्। म झन ३ छक्क परे। अनि येत्रो गर्दा मुभि बनाउने मान्छे रोड मा पुग्दैन भनेको। येस्तै हो रे। हरे म आफैलाई लाज लाग्यो म त येसरी हेर्दिन भनेको हेरे पनि नहेरे पनि टिकट छ खेर जान्छ भनेपछि हेर्न बाध्य भए। हरे कस्तो भएछ हाम्रो देश भने हेर्न भित्र गैयो।अब रामाइलो त के छ भने अरुको मेहनतलाई नराम्रो त भन्दिन ……… मलाई समय काट्न हम्मे हम्मे भयो ।।।।।।मुभि सक्यो । साथिलाई एउटा शब्द भने मैले। येस्तै बनेपछि त को पैसा तिरेर हेर्न आउछ भाइ। पैसा त जान्छ तर हलमा ३ घन्टा एक्स्ट्रा समय गरेर। माछेलाई सास्ति त दिन पाइदैननि यार्। हरे। पैसा तिरेर हेर्न जानेखालको मुभि जब सम्म बन्दैन तब सम्म हाम्रो हालत एस्तै होला। एक शब्द हरि बिजोक्। पल सर अबका दिनमा चै निरास नपार्नु ल!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + twenty =