‘ऊनको स्वीटर’ नयाँ पुस्ताका लागि दस्ताबेज हुनेछ, वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ: विपिन कार्की

काठमाडौँ । अभिनेता विपिन कार्कीले वर्षौंपछिसम्म सम्झिने चलचित्र ‘ऊनको स्वीटर’ बनेको बताउँछन् । कार्कीले केही वर्षपछि आफ्नो कामलाई फर्केर हेर्दा चलचित्र ‘ऊनको स्वीटर’ र पात्र धरणीधर काफ्लेको चर्चा हुने बताए ।
उनी भन्छन्, “यस चलचित्रको व्यावसायिक नतिजाका विषयमा म भन्न सक्दिनँ, तर हामीले उठाएको विषय, यसको निर्माणले पनि यो वर्षौंसम्म रहने चलचित्र बनेको छ । यो नयाँ पुस्ताका लागि एउटा दस्ताबेज पनि हुनेछ, ग्रामीण जीवनको । मैले आफ्नो उत्कृष्ट भन्ने पाँच चलचित्रमा यो पर्छ ।”
कार्कीले यसअगाडि ‘जात्रा’, ‘हरि’, ‘नाका’, ‘सेल्फी किङ’ चलचित्र र उक्त चलचित्रमा निर्वाह गरेको पात्रलाई विशेष बताए । ती चलचित्रको व्यावसायिक पक्षभन्दा पनि कलात्मक पक्षले आफूलाई आकर्षित गरेको उहाँले स्पष्ट गरे । “मैले नाम लिएका चलचित्रहरू मेरा लागि खास हुनाका कारण नै त्यसका पात्र हुन्, विषय हुन् । ती अहिले हेर्नुस् वा पाँच वर्षपछि उस्तै ताजा लाग्नेछन् । त्यसमा भएका पात्र सजिलै तपाईँसँग जोडिनेछन्”, अभिनेता कार्कीले भने ।
उनले चलचित्रमा ‘गुरुङसेनी’ युवती र ‘काफ्ले ब्राह्मण’ युवकबीचको प्रेम सम्बन्धमा आउने जातीय अन्तर्विरोधको कथा समेटिएको बताए । चलचित्रमा अभिनेता कार्कीको जोडीका रूपमा अभिनेत्री मिरुना मगर छिन् । उनले चलचित्रका निर्देशक नवीन चौहानले पहिलो पटक कथा सुनाउँदा नै पात्रसँग जोडिएको महसुस गरेको बताइन् । “म निर्देशक चौहानले बनाउनुभएका साङ्गीतिक श्रव्य दृश्यसँग प्रभावित थिएँ । यो चलचित्रमा काम गर्ने प्रस्ताव आउँदा मलाई निर्देशकले मेरो पात्र र परिबेससँगै एउटा गीतको सानो टुक्रा सुनाइन् । मैले त्यही समयमा चलचित्रमा काम गर्छु भनेकी थिएँ । किनकि उक्त पटकथाले मलाई चलचित्रको संसारमा सहजै पु¥यायो”, अभिनेत्री मगरले भनिन् ।
उनले चलचित्रमा आफूले ‘फूल’ नामक पात्रको भूमिका निर्वाह गरेको जानकारी दिइन् । उनका अनुसार उक्त पात्र आफ्नो मनको कुरा फ्याट्ट भनिहाल्ने र त्यसको परिणाम नसोच्ने किसिमले तयार गरिएको छ । “वास्तविक जीवनभन्दा उल्टो पात्र मैले चलचित्रमा निर्वाह गरेकी छु । त्यस कारण सुरुआती समयमा केही डर पनि थियो, तर अभिनेता कार्कीसँग काम गर्दा अभिनयका केही आयाम सिक्न पाएँ । म बाल्यकालमै नेपाल छाडेर विदेश गएकाले पनि ग्रामीण जीवनलाई धेरै बुझ्न पाएकी थिइन् । तर, मैले चलचित्रमा निर्वाह गर्ने भूमिकामार्फत विभिन्न कला र संस्कृतिलाई नजिकबाट बुझेकी छु, ती चलचित्रका पात्रमार्फत उक्त संस्कृतिसँग जोडिएर जीवन बाच्न पाएँ”, अभिनेत्री मगरले भनिन् ।
निर्देशक नवीन चौहानले चलचित्र नाम झैँ मुलायम कथामा बनेको बताए । उनी भन्छन्,“मैले चलचित्रको कथालाई महसुस गरेर नै नाम राखेको हुँ । मैले कल्पना गरेको एउटा संसारलाई चलचित्रमा चित्रण गर्ने कोसिस गरेको छु । मैले यो चार वर्ष अगाडि नै सोचेको एउटा कथा थियो, अब केही दिनमा चलचित्र बनेर आउँदैछ ।” उनले आफूले साङ्गीतिक श्रव्य दृश्यमार्फत भिन्नभिन्न कथालाई प्रस्तुत गरेका कारण पनि चलचित्र निर्देशन गर्न प्रेरणा मिलेको बताए । “गीत र त्यसको लागि निर्माण गरिने श्रव्य दृश्यभन्दा चलचित्र निकै फरक छ भन्ने मैले बुझेर नै त्यहीअनुसार आफूले सक्ने काम गरेको छु”, निर्देशक चौहानले भने ।
चलचित्र ‘ऊनको स्वीटर’ मा पूर्वी नेपालको सुन्दरता, संस्कृतिलाई देख्न पाइने उनले जानकारी दिए । पूर्वी नेपालको पाँचथर जिल्लामा छायाङ्कन गरिएको चलचित्रमा परीक्षा लिम्बू, विल्सनविक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायतका कलाकारले पनि अभिनय गर्नुभएको छ । निर्माण पक्षका अनुसार यही वैशाख २६ मा नेपालसहित विदेशमा समेत सो चलचित्र प्रदर्शन हुनेछ ।








