सौगात मल्लको स्वीकारोक्ति- ‘नेपालमा मलाई रमाइलो लाग्ने फिल्म अझै बनेको छैन’ (कुराकानी)
सौगात मल्लको यो अभिव्यक्ति केवल एक गुनासो मात्र नभएर नेपाली फिल्ममेकरहरूका लागि एउटा चुनौती पनि हो ।

काठमाडौँ । यही वैशाख ११ गते (शुक्रवार) देखि अभिनेता सौगात मल्लको अभिनय रहेको चलचित्र ‘परालको आगो’ प्रदर्शनको तयारीमा छ । उनले यस चलचित्रमा ‘जुठे’ पात्रको भूमिका निभाएका छन् ।
सौगात मल्ल यस्ता अभिनेता हुन् जसले ‘लुट’ को हाकु कालेदेखि ‘परालको आगो’ को जुठेसम्म आइपुग्दा आफ्नो रेन्ज प्रमाणित गरिसकेका छन् । नेपाली फिल्म अझै पनि परम्परागत फर्मुलामा अल्झिएको छ । उनको ‘भर्सटालिटी’ लाई न्याय गर्ने खालका ‘साइकोलोजिकल थ्रिलर’ वा गहिराइ भएका ‘क्यारेक्टर स्टडी’ फिल्महरू बन्न सकेका छैनन् ।
‘मलाई रमाइलो लाग्ने फिल्म नेपालमा त्यति बनेको छैन भन्ने तपाई हामी सबैलाई लाग्छ । धेरै राम्रो गर्न सक्छम् जस्तो लाग्छ । मैलै मात्र होइन हामी सबैले धेरै राम्रो गर्न सक्छम् जस्तो लाग्छ ।’ उनले भने ।
उनले ‘रमाइलो’ भन्नाले दर्शक हँसाउने फिल्म भनेका होइनन् । एक कलाकारका लागि ‘रमाइलो’ तब हुन्छ, जब उसले आफ्नो भूमिकाका लागि बौद्धिक र शारीरिक कसरत गर्नुपर्छ । उनले बलियो पटकथाका विषयमा यस अघि नै आवाज उठाउँदै आएका छन् ।
उनले पहिलेको तुलनामा राम्रो भई रहेको भन्दै पात्रको गहिराइमा पुगेर काम गर्ने निर्देशक, प्राविधिक र बजेटको हिसाबले ‘ग्लोबल’ स्तरको मेकिङ नभएको स्वीकार गरे ।
सौगात मल्लको यो अभिव्यक्ति केवल एक गुनासो मात्र नभएर नेपाली फिल्ममेकरहरूका लागि एउटा चुनौती पनि हो । यदि इन्डस्ट्रीले उनीजस्ता ‘पावर हाउस कलाकारलाई केवल सामान्य व्यावसायिक फिल्ममा मात्र सीमित राख्यो भने यो फिल्म इन्डस्ट्रीकै लागि ठुलो घाटा हुने देखिन्छ ।
पढ्नुहोस् अभिनेता मल्लसँग गरिएको कुराकानीको सम्पादित अंक:
नेपाली फिल्म इन्डस्ट्री र निर्देशकले सौगात मल्ललाई युज गर्न सकेको छैन, उनको क्षमताको प्रयोग हुने फिल्म नै नेपालमा बनाउन सकिएको छैन भन्ने आम दर्शकहरूको धारणा छ । यसमा तपाईँको भनाई के छ ?
हरेक चिजको समय हुन्छ । हामी बाहिरको फिल्म भन्दा त्यसै पनि धेरै पछाडि छौँ । पहिलेको तुलनामा राम्रो भई नै रहेको छ । बिस्तारै समय आउँछ होला । आउनु पर्छ । जस्तो लाग्छ । भनेर हुदैँन् ।
भनेपछि तपाईँको क्षमताको प्रयोग नभएकै हो त इन्डस्ट्रीमा ?
मलाई रमाइलो लाग्ने फिल्म नेपालमा त्यति बनेको छैन भन्ने तपाई हामी सबैलाई लाग्छ । धेरै राम्रो गर्न सक्छम् जस्तो लाग्छ । मैलै मात्र होइन हामी सबैले धेरै राम्रो गर्न सक्छम् जस्तो लाग्छ ।
सृष्टि श्रेष्ठ जी र तपाई विवाह गर्दै हुनुहुन्छ भन्ने इन्डस्ट्रीमा हल्ला छ, यसमा कत्तिको सत्यता छ ?
खै यसमा त म केही भन्न सक्दिन होला । अहिले तुरुन्त चाहिँ । त्यसरी भन्न सक्ने स्थिति नै छैन् ।
सम्बन्धमा हुने झगडालाई ‘परालको आगो’ भनिएको छ । यहाँको सम्बन्धमा चाहिँ यस्तो झगडा कत्तिको पर्ने गरेको छ, अनि यो फिल्म खेलिसकेपछि के सिक्नुभयो ?
घरेलु हिंसा छैन भन्दाभन्दै पनि छ । हामीसँगै छ । यो हटाउनु पर्छ भनेर सबैलाई थाहा छ । यो क्लियरली हट्न सकेको छैन । हाम्रै घरहरूमा छ । हामी सबैजना अझै सजग रहनुपर्छ । यो नभइदिएको भए फिल्म बनाउनु खास्सै औचित्य हुदैन्थ्यो होला । कसैलाई मन पनि पर्दैनथ्यो होला यो फिल्म । तर यसले छुन्छ । अहिले पनि त्यही छ अवस्था ।
तपाईँको व्यक्तिगत जीवनमा चाहिँ यस्तो झगडा कत्तिको हुन्छ ?
सामान्य झगडा त भई नै हाल्छ । फिल्ममा देखेको भन्दा त धेरै भोगी सकेका छौँ जस्तो लाग्छ ।
जेठे पात्रको लागि किन तयार हुनुभयो ?
कसरी विश्वास गरेर मलाई लिनुहुन्छ खै । तपाईँले सक्नुहुन्छ यो रोल भनेर दिनुहुन्छ र त्यसको लागि धन्यवाद दिन चाहन्छु ।
म सधैँ काम गर्न मन पराउने मान्छे । म गुरुकुल आउनुभन्दा अगाडी नै मैले यो कथा पढिसकेको थिए । त्यसबेला पनि म नाटककै काम गरिरहेको थिए । ‘यदि यो पात्र गर्नु परेको भए के गर्थे’ होला भनेर सोच्थे ।
सबभन्दा पहिला हाम्रो कलाकार बीच कुनचाहिँ पात्र गर्थे भन्दाखेरि मलाई जुठे गर्न मन थियो । नाटकभरि बस्नु परेन्, एकैछिन आयो । फेरि गयो । आनन्द । त्यो हिसाबले जुठे पात्र मलाई मन परेको थियो ।
पछि गुरुकुलमा बसिसकेपछि बल्ल बुझे । तर खेल्ने मौका चाहिँ मिलेन । त्यो बाकिँ नै थियो एउटा । र यस चलचित्रको लागि चाहिँ सुटिङ ६ दिन पछाडि सर्यो ।
म लोकेसनमा ६ दिन अगाडी नै पुगे । त्यो मेरो लागि फाइदै भयो । झन् तयारी गर्ने मौका पाए । त्यत्तिकै पनि ‘चामे’ लिड पात्रलाई पशुबाट मान्छे बनाउने गुण आफ्नो पात्रमा देखे । त्यो चानचुने कुरा पनि होइन ।
अन्त्यमा दर्शकहरूलाई के भन्न चाहनुहुन्छ ?
परालको आगो वैशाखको ११ गतेदेखि आउदैँछ । गुरु प्रसाद मैनालीले लेख्नुभएको कृति । कतिले पढी सक्नुभयो होला । कतिलाई थाहा छैन होला । यदि टिजर ट्रेलर हेर्नुभएको छैन भने हेर्नुहोला । त्यो हेरेपछि पक्कै पनि हेर्न मन लाग्छ । धन्यवाद ।








