मैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्छु : धनराज गुरुङ

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले आफूले अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचार गरेको प्रमाण लिएर आए राजनीतिबाट सन्यास लिने बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले हरेक नेताले भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्न तयार हुने हो भने भ्रष्टाचारका घटनाहरु कम हुने बताए ।

‘धनराज गुरुङले कुनै एउटा मात्र ठाउँमा कुनै एक रुपैयाँ मात्रै भ्रष्टाचार गरेको छ भन्ने कुरा यदी लिएर आउँछ भने म राजनीतिबाट सन्यास लिन तयार छु,’ उनले भने,‘यही कुरा हरेक नेताले भन्नसक्ने की नसक्ने आजका दिनमा । वडा अध्यक्षदेखि मन्त्री र प्रधानमन्त्री सबैको सम्पती छानबिन गर्नुपर्छ ।’

उनले भ्रष्ट प्रवृत्तिका मान्छेहरुलाई खादा र माला लगाएर काँग्रेस र देश उन्नतितर्फ बढ्न नसक्ने जिकिर गरे । उनले वडा अध्यक्षदेखि मन्त्री र प्रधानमन्त्री सबैको सम्पती छानबिन हुनुपर्ने बताए ।

उनले कहीँ कतै कसैले औंला ठड्याउने ठाउँ नराख्ने गरी देश चलाउन आवश्यक रहेको बताए ।

‘हामीले देश चलाउँदै गर्दा कहीँ कतै कसैले औंला ठड्याउने ठाउँ नराख्ने गरी देश चलाउने हो । हिजोका दिनमा कसले केके गरे बिर्सिदिनुस्,’उनले भने, ‘तर भोलिको दिनलाई कसैलाई पनि छुट हुँदैन, आगामी दिनमा काँग्रेस हुँ भन्ने मान्छेहरुले कहीँ, कतै कसैले अर्को पार्टीबाट औंला ठड्यायो भने त्यसलाई कुनैपनि हालतमा काँग्रेस भित्र ठाउँ दिनु हुँदैन । त्यो प्रण गरेर हामी अघि बढ्न आवश्यक छ । भ्रष्ट प्रवृत्तिका मान्छेहरुलाई खादा र माला लगाएर न काँग्रेस उँभो लाग्छ, न देश उँभो लाग्छ । सिधा कुरा भन्छु म ।’

उपसभापति गुरुङले राजनीतिमा अस्वस्थ प्रतिष्पर्धा भइरहेको बताए । उनले पदका लागि मात्रै सहअस्तित्व स्वीकार्ने र समन्वय गर्ने काम हुनु नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 8 =