दसैँका लागि नयाँ नोट सटही (तस्बिरहरू)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट साट्न सुरु गरेसँगै बैंकहरूमा सर्वसाधारणको घुइँचो लाग्न थालेको छ । दसैँ, तिहार र छठका लागि राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्न सुरु गरेको हो ।
काठमाडौं उपत्यकाभित्र केन्द्रीय बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिने व्यवस्था छ । वाणिज्य बैंकहरूले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकबाट त्यस्ता नोट लिनुपर्नेछ ।
केन्द्रीय बैंकका अनुसार सर्वसाधारणले असोज २९, ३० तथा कात्तिक १, २ र ३ मा नयाँ नोट साट्न पाउनेछन् । दसैँ-तिहारमा मात्र १५ अर्बभन्दा बढीको नोट सटही हुने गरेको राष्ट्र बैंकको भनाइ छ ।
अघिल्ला वर्षहरूजस्तै यसपालि पनि एकजनाले बढीमा १८ हजार पाँच सय रुपैयाँसम्मको नयाँ नोट साट्न पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । यसवर्ष असोज २९ गते घटस्थापना र कार्तिक ७ गते विजया दशमी रहेको छ । दसैँ टीका लगाएर नयाँ नोट दिने प्रचलन रहेको छ ।









