गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाउँछु : रेनु दाहाल (भिडिओ)

चितवन । धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने भएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रङ्गशालाको बाँकी निर्माणको काम महानगरले पूरा गर्ने बताएकी हुन् । उनले जनस्तरबाट भएको चासो र चिन्तालाई आफूले मनन गरेको जनाउँदै जसरी भए पनि रङ्गशाला बनाउने बताइन् ।
दाहाल भन्छिन्, “हामीलाई पटक–पटक जनस्तरबाट खबरदारी भएको छ, रङ्गशाला के हुँदै छ भन्ने आम रूपमा जनतामा चासो र चिन्ता छ, महानगर प्रमुखले अल्लि अस्ति नै बनाउने भन्नुभएको थियो निर्माणको काम कहाँ पुग्यो भन्ने जनतामा प्रश्न छ ।”
सामाजिक सञ्जालमा समेत पहिला बोलेका कुरा राखेर प्रश्न उठाउने गरिएको उनले बताइन् । उनले भनिन्, “म यही कार्यक्रममार्फत भन्न चाहन्छु गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बन्छ हाम्रै पालामा तपाईँहरू ढुक्क रहनुस् ।” रङ्गशाला निर्माण पूरा गर्न ठूलो आकारको ऋण तिर्नुपर्ने भएको र सरकारले ऋण तिर्ने भन्ने पहिला कुनै सम्झौता नभएको हुँदा निर्माण प्रक्रिया अगाडि बढाउन मुस्किल भएको भन्दै महानगर प्रमुख दाहालले गत आर्थिक वर्षको अन्त्यमा नेपाल सरकारको रु १२ करोड बजेट आएको तर एक हप्ता पनि समय नहुँदा बजेट फिर्ता पठाइएको र छिट्टै त्यो बजेट पुनः आउने उहाँले आश्वासन दिइन् ।
रङ्गशाला निर्माणका लागि महानगरपालिकालाई तत्कालै अरबौँ बजेट जुटाउन समस्या हुने हुँदा चरणबद्ध ढङ्गले काम अघि बढाउँदै र बनेका संरचना संरक्षण गर्दै लैजाने दाहालको भनाइ छ । उनले रङ्गशालालाई खेल्न लायक ठाउँ बनाउनका लागि महानगरपालिकाले विभिन्न प्रक्रिया पूरा गरी बागमती प्रदेश सरकारसँगको साझेदारीमा छिट्टै काम अघि बढाइने जानकारी दिइन् ।










