दलाल, नकचराहरू भ्रष्टाचारबिरोधी अभियानलाई असफल पर्ने कुचेष्टा गर्दैछन् : प्रचण्ड
३२ सिटको सानो पार्टी भएपनि राजनीतिक एजेण्डाको बलमा फेरि प्रधानमन्त्री भएँ

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफू पार्टीको इतिहास र राजनीतिक एजेण्डाको तागतमा पछिल्लो पटक पनि प्रधानमन्त्री बन्न सफल भएको बताएका छन् ।
प्रधानमन्त्री दाहालले माओवादी केन्द्र ३२ सिटको सानो पार्टी भएपनि पार्टीको इतिहास, राजनीतिक एजेण्डाको बलमा आफू तेस्रो पटक पनि प्रधानमन्त्री बनेको बताएका हुन् ।
शनिवार काठमाडौँको चन्द्रागिरिस्थित भट्टेडाँडाबाट ‘जनतासँग माओवादी विशेष अभियान’को शुभारम्भ गर्दै उहाँले आफ्नो पार्टी नेतृत्वलाई नेपाली जनताको भरोसा रहेको दाबी समेत गरे । आफूले प्रधानमन्त्रीमा करिब शतप्रतिशत विश्वासको मत पाएबाट तथा आफ्नो पार्टीप्रति इतिहासको, नेपाली जनताको र अरू पार्टीहरूको पनि भरोसा रहेको भन्ने प्रमाणित भएको प्रधानमन्त्री दाहालको भनाई थियो ।
प्रधानमन्त्री दाहालले नेपाली जनताको भरोसा जगाउन र सिंगो पार्टी पंक्तिमा उत्साहको सञ्चार गराउन आफूले सुशासनको पक्षमा भ्रष्टाचार विरोधी अभियान चलाउनु परेको स्पष्ट पारे । उनले प्रतिक्रियावादीहरुले अहिले पनि सत्तारुढ गठबन्धन फुटाउनका लागि आफ्नो भ्रष्टाचार विरोधी अभियानबारे भ्रम फैल्याउने कोशिस गरिरहेको आरोप समेत लगाए ।
प्रधानमन्त्री दाहाल भन्छन्, ‘हिजो परास्त भएका तत्त्वहरू फेरि टाउको उठाउन खोजेजस्तो देखेपछि मैले यो पटक हाम्रो संख्याको तागतको बलमा म प्रधानमन्त्री भएको त होइन । तपाई–हामी सबैलाई थाहा भएकै कुरा हो । ३२ सिटले प्रधानमन्त्री हुने तागत त राख्दैन ९० सिट र ८० सिट भएका पार्टीहरूको अगाडि । सजिलो कुरा त होइन यो । तपाईँहरूले बुझिराख्नुभएकै होला । हाम्रो इतिहासको तागत, हाम्रा शहीदहरूले बगाएको रगतको तागत, हाम्रो बेपत्ता हजारौँ योद्धाहरूको त्याग र बलिदानको तागत र हाम्रो राजनीतिक एजेण्डाको तागत र नेपाली जनताले लामो संघर्षबाट विकास गरेको नेतृत्वपंक्ति नेताहरूको, कार्यकर्ताहरूको र मूल नेताको हैसियतले म मा केन्द्रित भएको तागतको कारणले ३२ सिट भएपनि हामी प्रधानमन्त्री बन्ने र देशको नेतृत्व गर्ने अवसर हामीलाई प्राप्त भयो । म अहिले यसको बारेमा धेरै भन्न चाहन्न । ३२ सिटको पार्टी हुँदाहुँदै पनि देशको नेतृत्व गर्ने अवसर मात्रै हामीले प्राप्त गरेनौँ । बरु सदनमा भएका ८० र ९० वाला वा अन्य पार्टीहरूमा पनि समर्थन । तपाईँहरूले देख्नुभयो–विश्वासको मत लिँदा झन्डै शतप्रतिशत समर्थन नेपालको इतिहासमा हाम्रो पार्टीलाई र प्रधानमन्त्रीको हैसियतले मलाई प्राप्त भयो । यो अद्भुत परिघटना हो । नेपालको इतिहासमा यस्तो पहिला कहिल्यै भएको थिएन । यसबाट के देखिन्छ भने हाम्रो पार्टीप्रति इतिहासको, जनताको र अरू पार्टीहरूको पनि भरोसा छ । हाम्रो पार्टी र नेतृत्वलाई राष्ट्रले राम्रैसँग स्वीकार गरेको छ भन्ने कुराको यो प्रमाण हो । दोस्रो कुरा म के भन्न चाहन्छु भने त्यति मात्रै होइन । मैले अव आफैँले एउटा नयाँ अभियानका सुरुवात प्रधानमन्त्रीकै तहबाट, अध्यक्षकै तहबाट त्यो सुरुवात नगर्ने हो भने आम कार्यकर्ता पंक्तिमा पनि विश्वासको, भरोसाको र उत्साहको सञ्चार हुनेवाला छैन । र, आम जनतामा पनि भरोसा जाग्नेवाला छैन । त्यस कारण मैले यो पटक नयाँ संकल्पका साथ प्रधानमन्त्री शपथग्रहण पछि नयाँ अभियानको थालनी आफैले गरेँ–भ्रष्टाचारबिरुद्ध सुशासनको अभियान । यो एउटा महाअभियान हो । यो एउटा ठूलो अभियान हो । यो एउटा नयाँ क्रान्ति हो । यो नयाँ प्रकारको जनयुद्ध नै हो । हिजो जनयुद्धमा हामीलाई घेरा हाल्ने र सखाप पार्ने हिजोको सामन्ती राजामहाराजाहरुका सपना थिए । अहिले पनि दलालहरू, नकचराहरू, प्रतिक्रियावादीहरू अनेक किसिमले हाम्रो गठबन्धन फुटाउन सरकारले सुरुवात गरेको सुशासन र भ्रष्टाचारबिरोधी अभियानलाई भ्रमित पार्न अनेक कुचेष्टाहरु भएका छन् ।’
दाहालले आफूले सुरुवात गरेको भ्रष्टाचार विरोधी अभियानलाई पनि नयाँ खालको जनयुद्धको रूपमा लिनुपर्ने जिकिर गरे ।










