नेपालले विपद् न्यूनीकरणका लागि आवश्यक कदम चाल्न जरुरी छ : देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनले निम्त्याएका विपद् न्यूनीकरणका लागि नेपालले आवश्यक कदम चाल्न ढिलाइ गर्न नहुने बताएका छन् ।
शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनका कारण नेपालमा अतिवृष्टि, अनावृष्टिलगायतका सङ्कट देखा परिरहेको उल्लेख गर्दै त्यसको न्यूनीकरणका लागि नेपालले आवश्यक कदम चाल्न जरुरी भइसकेको बताएका हुन् ।
सभापति देउवाले जलवायु परिवर्तनकै कारण हिमालमा हिउँ नभएको अवस्था आउनु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै त्यसले निम्त्याउने विपद् व्यवस्थापनका लागि नेपाली काँग्रेसले आफ्नोतर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि आफूहरूले नीतिगत रूपमै धारणा बनाएर अघि बढ्ने समेत बताए ।
सभापति देउवाले भने, ‘जलवायु परिवर्तन मुलुकमा ठूलो चुनौतीको रूपमा देखा परेको छ । नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा पर्ने राष्ट्र मध्यमा पर्दछ । त्यसैले जलवायु परिवर्तनका कारण हाम्रो हिमालका हिउँहरू पग्लिएका छन् । त्यसमा हिउँ छैन अहिले । यस्तो अवस्था भइसकेको छ । यसै कारण अतिवृष्टि, अनावृष्टि लगाएका विपद् व्यहोर्नुपरिरहेको छ । यो सङ्कटलाई न्यूनीकरण गर्न बदलिँदो परिस्थिति अनुकूल कदम चाल्नु नेपालको सन्दर्भमा अत्यन्त जरुरी छ । नेपाली काँग्रेसले यस विषयलाई सदैव प्राथमिकतामा राख्दै आएको छ । यस विषयलाई नीतिगत कुरासँग जोडेर हामीले अगाडि बढाउनेछौँ ।’
देउवाले नेपालले जलवायु परिवर्तनको नकारात्मक असरबाट बच्न बदलिँदो परिस्थिति अनुसार अघि बढ्नुपर्ने बताए ।










