आफ्नो क्षमताले भ्याउने सबै विषयगत समितिमा रास्वपाले उम्मेदवारी दिने

प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले आफ्नो क्षमताले भ्याउने सबै विषयगत समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ ।
समिति सभापतिमा उम्मेदवारी दिनका लागि उम्मेदवारसहित प्रस्तावक र समर्थक गरी तीन जना अनिवार्य चाहिने भएकाले आफ्नो क्षमताले भ्याउने समितिहरू सबैमा समिति सभापतिका लागि उम्मेदवारी दिने निर्णय गरेको हो ।
शुक्रवार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले ११ गते हुने संसदीय समितिको सभापतिका लागि क्षमताले पुग्ने समितिमा नेतृत्वका लागि उम्मेदवारी दिने र क्षमता नपुग्ने समितिका लागि आन्तरिक छलफल गर्ने बताए । उनले बैठकमा पार्टीका सभापति रवि लामिछानेले लम्पी स्किनसम्बन्धी सार्वजनिक महत्वको विषय भदौ १७ गतेपछि बस्ने संसद्को बैठकमा छलफल गर्ने निर्णय गरेको बताए । उनले पार्टीका उपनेता विराजभक्त श्रेष्ठले डेंगु रोग सम्बन्धी संकल्प प्रस्ताव दर्ता गरेको र त्यसलाई पनि संसदमा छलफल गर्ने निर्णय भएको बताए । उनले निर्वाचन क्षेत्र विकास कार्यक्रममा विनियोजन विधेयकमा सरकारले छुट्याएको बजेटबारे सर्वोच्च अदालतबाट आएको आदेशको स्वागत गर्ने निर्णय गरेको बताए ।
उनी भन्छन्, ‘११ गते हुने संसदीय विषयगत समितिका सभापतिहरूको निर्वाचन, हामीले यो अधिवेशनमा प्रस्ताव गरेका संकल्प र सार्वजनिक महत्वका विषयहरू र आगामी संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीले खेल्नुपर्ने भूमिका विषय थियो । सभापतिको विषयमा पार्टीले जहाँ आफ्नो क्षमताले भ्याउँछ, त्यहाँ हामीले उम्मेदवारी दिने, अन्य समितिमा एक खालको आन्तरिक छलफल गर्ने । संसदमा दर्ता गरेका सार्वजनिक महत्वका केही विषयहरू सरकारका कामकारबाही र सांसदले केही काम गरिसकेकाले बहस छलफल गर्नु नपर्ने भएको छ । संसदमा प्रस्तुत गर्न नपर्ने भएको छ । केही गर्नुपर्नेछ । पार्टीका सभापति रवि लामिछानेले लम्पी स्किनसम्बन्धी सार्वजनिक महत्वका विषय जो राख्नुभएको छ, त्यो संसदमा छलफलमा अघि बढाउने, १७ गतेपछिको संसदमा छलफल गर्नेछौँ । पार्टीका उपनेता विराजभक्त श्रेष्ठले संकल्प प्रस्ताव दर्ता गर्नुभएको थियो, डेंगु रोग सम्बन्धी त्यो पनि राजनीतिक पार्टीसँगको अनौपचारिक छलफलमा संसदमा अब प्रक्रियामा लैजाने भन्ने छ । निर्वाचन क्षेत्र विकास कार्यक्रममा विनियोजन विधेयकमा सरकारले जुन बजेट छुट्याएको थियो, त्यसमा छलफल गर्ने भन्ने थियो, त्यसमा सर्वोच्च अदालतले रोकेको छ, त्यसको स्वागत गरेका छौँ । गएको संसद् अवरुद्धका विषयमा हामीले जिम्मेवारी भूमिका खेलेका थियौँ । आज संसद्को अवरुद्ध खुलेको छ ।’
प्रमुख सचेतक परियारले संसद् अवरुद्ध खुलाउन पार्टीले महत्त्वपूर्ण भूमिका खेलेकाले अहिले संसद् सुचारु भएको दाबी समेत गरे ।










