काठमाडौँ जिल्ला अदालत बारको अध्यक्षमा पौडेल विजयी

काठमाडौँ । काठमाडौँ जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा रामचन्द्र पौडेल (आरसी विमल) लोकप्रिय मतका साथ निर्वाचित भएका छन् । शनिवार काठमाडौँमा भएको निर्वाचनमा कुल १२५२ मत खसेकोमा पौडेलले ९६४ मत ल्याएका हुन् ।

लोकतान्त्रिक वैचारिक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा पिपुल्स लिगल एसोसिएट्सका संस्थापक समेत रहेका पौडेलले कानुन व्यवसायीहरूको संस्था डेमोक्रटिक लयर्स एसोसिएसनका तर्फबाट प्रतिनिधित्व गर्दै काठमाडाैँ जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा लोकप्रिय मतसहित जित हासिल गरेका हुन् ।

यस अघि डेमोक्रटिक लयर्स एसोसिएसन काठमाडौँमा असार १८ मा भएको आन्तरिक प्रतिस्पर्धामा जित हासिल गर्दै पौडेल डिएलएका तर्फबाट आधिकारिक उम्मेदवार चयन भएका थिए ।

न्यायालयलाई जिम्मेवार बनाउँदै पारदर्शी कायम गर्नका साथै पेसागत मर्यादालाई स्थापित गराउँदै सामूहिक शुद्धताको भावनालाई केन्द्रमा राखेर काम गर्ने नवनिर्वाचित अध्यक्ष पौडेलले बताए । अग्रजलाई सम्मान, युवालाई उचित स्थानको भावना अनुरूप आफ्नो टिमले प्रभावकारी रूपमा कार्य सम्पादन गर्ने उनको भनाई छ ।

पौडेलसँगै बारको सबै पदाधिकारी डिएलबाट नै निर्वाचित भएका छन् । उपाध्यक्षमा डिएलएकै पुरुषोत्तम अधिकारी विजयी भएका छन् । त्यसै गरी सचिवमा उज्वलराम श्रेष्ठ, सहसचिवमा अन्जु रेग्मी अर्याल र कोषाध्यक्षमा सन्तोष भण्डारी निर्वाचित भएका छन् ।

महिला सदस्यहरूमा उमादेवी प्रसाईँ र गीता श्रेष्ठ यस अघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । शनिवार भएको निर्वाचनमा सदस्य पदमा भीष्म निरौला, मदनकुमार दाहाल, संकल्प क्षेत्री, सूर्यमणि राई, सुनिल थापा, सूर्यबहादुर दौल्याल, सुवास पाठक, हरिराम लामिछाने, चेतनाथ तिमल्सेना (चेतन), जीवन न्यौपाने, प्रवीण हुमागाई र दीपककुमार साह निर्वाचित भएका छन् ।

योसँगै काठमाडौँ जिल्ला अदालत बार एसोसिएसनमा डिएलएकातर्फबाट १९ सदस्यीय कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षसम्म रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 13 =