हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग

काठमाडौँ । सांसदहरूले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग गरेका छन्।

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९-०८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसदहरूले हवाई सेवालाई गुणस्तरीय बनाउन सरोकारवाला निकायले विशेष ध्यान दिन जरुरी भएको उल्लेख गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद उर्मिला अर्यालले मुलुकभित्र बढ्दो हवाई दुर्घटना नियन्त्रण तथा हवाई उडानलाई व्यवस्थित र सुरक्षित बनाउन सरोकारवालाको ध्यानाकर्षण गराए। देशभित्र बारम्बार भइरहेका हवाई दुर्घटनाको अनुसन्धान गरी यसको निर्मुलीकरणका उपाय अपनाउन सबै निकायले चासो दिनुपर्ने उनको भनाइ थियो।

नेकपा (एकीकृत समाजवादी)का सांसद मदनकुमारी शाहले हवाई यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन माग गरेकी छन्। उनले अहिले नेपालमा ४० वर्षभन्दा बढी पुराना जहाज चलिरहेकाले उडान सुरक्षामा चुनौती थपिएको भन्दै हवाई यातायातलाई गुणस्तरीय र विश्वसनीय बनाउन सरकारको ध्यान जान जरुरी भएको उल्लेख गरेकी छन्।

यही जेठ १५ गते पोखराबाट जोमसोमका लागि बिहान ९ः५५ बजे उडेको तारा एयरको ट्वीनअटर विमान सम्पर्कविहीन भई सोमबार बिहान मुस्ताङको थासाङस्थित सानोसुरे भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। उक्त विमानमा सवार तीन चालक दलका सदस्य र १९ यात्रुगरी कूल २२ जनाको दुःखद् निधन भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *