कलाकार निशा घिमिरेको निधन

काठमाडौँ । कलाकार निशा घिमिरेको निधन भएकाे छ । नर्भिक अस्पतालमा उपचाररत घिमिरेकाे निधन भएको हाे । मोडल घिमिरेको बुधबार साँझ ६ः५१ बजे निधन भएको नर्भिक अस्पतालले जनाएको छ ।
लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो । खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन् । गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मिर्गाैलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको अस्पताल प्रशासनले जनाएको छ ।
अभिनय सिक्न भारत गएकी निशा त्यहाँ सडक दुर्घटनामा परि गम्भीर घाइते भएकी थिइन् । भारतबाट घर ल्याइएपनि उपचार अभावमा ललितपुरस्थित घरमै रहेकी घिमिरेलाई गत जेठ २७ गते नर्भिक अस्पतालमा ल्याएर निःशुल्क उपचार थालिएको थियो । सो क्रममा उनको सबैखालका विकल्प तथा विधिबाट उपचार गरिएको अस्पतालले जनाएको छ । लामो समयसम्मको उपचारपछि पनि उनको अवस्था स्थिर नै रहेको थियो ।
अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको तर सबै प्रयासका बाबजुद घिमिरेको निधन हुन पुगेको नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए । निशाले विभिन्न गीतमा मोडलिङ गरेकी छन् ।
याे पनि– निशा घिमिरेको स्वास्थ्य अवस्था स्थिर : ३ महिनामा अपेक्षित सुधार देखिएन









