निशा घिमिरेको स्वास्थ्य अवस्था स्थिर : ३ महिनामा अपेक्षित सुधार देखिएन

काठमाडौँ । नर्भिक अस्पताल, थापाथलीमा उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्यमा अपेक्षित सुधार नदेखिएको अस्पतालले बताएको छ । आज अस्पताल परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै निशाको स्वास्थ्य अवस्थामा ३ महिनासम्ममा पनि अपेक्षित सुधार हुन नसकेको जानकारी दिइएको हो ।

अस्पतालका प्रमुख कर्पोरेट कम्युनिकेसन एन्ड पीआर सोमनाथ बास्तोलाका अनुसार निशाको स्वास्थ्य अवस्था स्थिर रहेको छ । उद्धार गरिएको केही दिनसम्म निशाको स्वास्थ्यमा सुधार हुने केही लक्षण देखिए पनि अहिले भने अवस्था स्थिर नै रहेको अस्पतालले जनाएको छ ।

नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले केही समाजसेवीहरूको सहयोग लिएर जेठ २७ गते निशाको उद्धार गरी नर्भिक अस्पतालमा उपचार सुरु गराएकी थिइन् । हालसम्म निशाको उपचारका लागि ५० लाख बढी खर्च भएको छ । नर्भिकले निशाको उपचारका लागि बाहिरी सहयोगको आवश्यकता नपर्ने बताउँदै सहयोग रकम सङ्कलन नगर्न अनुरोध गरेको छ ।

निशाको स्वास्थ्य अवस्था स्थिर नै रहने हो भने राम्रो रिहाब सेन्टरको आवश्यकता पर्ने उनको उपचारमा खटिएका चिकित्सकको ठम्याइ छ । दुर्घटनाका कारण निशाको ब्रेन इन्जुरी भएको र अवस्था निक्कै नै जटिल रहेकोमा निशाको स्वास्थ्य अवस्था पूर्ण रूपमा सामान्य नहुने यसअघि नै जानकारी गराई सकिएको छ ।

के भएको थियो निशालाई ?

तीन वर्ष अघिसम्म मिडियाहरूमा छाउने गरेकी मोडल निशा घिमिरे कलाकारिता क्षेत्रमा पढेर नै केही गर्छु भन्ने सोचसहित ३ वर्षअघि भारत प्रवेश गरेकी थिइन् । अभिनयको कोर्स पढ्न निशा अधिकारी भारतको देहरादून पुगेकी थिइन् । सोही बसाइको क्रममा सडक दुर्घटनामा परी उनी गम्भीर घाइते भएकी थिइन् । दुर्घटना लगत्तै उनको भारतकै केही अस्पतालहरूमा उपचार गरिएको थियो । तर, त्यहाँको अस्पतालको उपचार महँगो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बाबुआमाले छोरीलाई नेपालमै ल्याएका थिए ।

काठमाडौँ ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो । तर, उनको अवस्थामा सुधार हुन सकेको थिएन । त्यसपछि चिकित्सककै सल्लाहअनुसार उपत्यकाका विभिन्न थेरापी सेन्टरहरूमा लगातार थेरापी समेत गरिएको थियो । नियमित थेरापी गर्न समेत आर्थिक अभाव भएको र त्यही बिचमा कोरोनाको सङ्क्रमण समेत बढेपछि उनी घरमै थन्किएकी थिइन् ।

उद्धारपछि कलाकार घिमिरेको नर्भिक अस्पतालमा राखेर उपचार भइरहेको छ । सुरुवातमा नसामा समस्या देखिएको बताए पनि हाल उनको ब्रेन इन्ज्युरी भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *