जेनजी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेनजी आन्दोलनपछि मुलुकको आर्थिक गतिविधिमा मन्दी देखिएको बताएका छन् ।
सोमवार राष्ट्रिय सभा बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक र आर्थिक अवस्थाले नयाँ मोड लिएको बताएका हुन् ।
अर्थमन्त्री वाग्लेले आन्दोलनपछि देखिएको परिवर्तित परिस्थितिलाई सम्बोधन गर्ने गरी सरकारको नीति, कार्यक्रम र बजेट तयार गरिएको उल्लेख गरे ।
उनले कोभिड–१९ महामारीपछि नेपालको अर्थतन्त्र अझै पूर्ण रूपमा लयमा फर्किन नसकेको भन्दै बजारमा माग कमजोर रहँदा आर्थिक गतिविधि सुस्त बनेको बताए ।
‘जेनजी आन्दोलनपछि मुलुकको राजनीतिले कोल्टे फेरेको छ । त्यसलाई न्याय गर्ने हिसाबले हामी अगाडि बढेका हौं,’ उनले भने, ‘कोभिडपछि अर्थतन्त्र लयमा फर्किन सकेको छैन । बजारमा माग कमजोर छ, क्रय–विक्रय सुस्त छ र खर्च गर्ने क्षमता शिथिल बनेको छ ।’
अर्थमन्त्री वाग्लेका अनुसार निजी क्षेत्रको लगानीसमेत अपेक्षाअनुसार बढ्न नसकेको र लगानीकर्तामा अनिश्चितता कायम रहेकाले आर्थिक गतिविधि प्रभावित भएको छ ।
उनले सरकारले ल्याएको बजेट आर्थिक गतिविधिलाई चलायमान बनाउने, बजारमा माग बढाउने र निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्ने उद्देश्यले केन्द्रित रहेको बताए ।
वाग्लेले बजेटले विशेषगरी तल्लो आय भएका वर्गको जीवनस्तर उकास्न र आर्थिक अवसर विस्तार गर्न प्राथमिकता दिएको दाबी पनि गरे ।









