उपचार खर्चकै कारण कुनै नगरवासी अस्पताल जानबाट वञ्चित नहोस् : मेयर रिसाल

काठमाडौँ। गोकर्णेश्वर नगरपालिका र काठमाडौँ मेडिकल कलेज (केएमसी) बिच नगरवासीलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबार (असार १ गते) उपचारसम्बन्धी सम्झौता भएको छ। गोकर्णेश्वर नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौली र काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौता आगामी साउन १ गतेदेखि लागू भई २०८४ असार मसान्तसम्म कायम रहनेछ।

सम्झौता कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसालले स्थानीय सरकारको मुख्य दायित्व नागरिकको जीवनस्तर सुधार गर्नु रहेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताए। उनले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न नगरपालिकाले पहल गरेको स्पष्ट पारे।

“हामी केवल सडक, भवन र भौतिक पूर्वाधार निर्माण गर्ने काममा मात्र सीमित छैनौँ। नागरिकको जीवन र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयमा पनि उत्तिकै संवेदनशील छौँ,” मेयर रिसालले भने, “उपचार खर्चकै कारण कुनै नगरवासी अस्पतालको ढोका ढकढक्याउन नसक्ने अवस्था आउनु हुँदैन भन्ने सोचका साथ यो सम्झौता गरेका हौँ।”

उनले गम्भीर प्रकृतिका रोग लाग्दा धेरै परिवारको आर्थिक अवस्था नै सङ्कटमा पर्ने गरेको उल्लेख गर्दै स्थानीय सरकारले नागरिकको दुःखमा साथ दिनुपर्ने धारणा राखे। “एउटा परिवारमा ठुलो स्वास्थ्य समस्या आउँदा त्यसको असर आर्थिक, सामाजिक र मानसिक सबै क्षेत्रमा पर्छ। यस्तो अवस्थामा नगरपालिकाले आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन। विशेषज्ञ स्वास्थ्य सेवामा नगरवासीको पहुँच बढाउन हामी निरन्तर प्रयासरत छौँ,” उनले भने।

सम्झौताअनुसार गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दाले काठमाडौँ मेडिकल कलेजको दुवाकोट युनिटमा उपचार गराउँदा तोकिएका केही सेवाबाहेक उपचार खर्चमा ५० प्रतिशतसम्म छुट पाउनेछन्। त्यस्तै, सिनामंगल शाखामा उपचार गराउँदा २५ प्रतिशतसम्म छुटको सुविधा उपलब्ध हुनेछ। दुवाकोटमा उपचार गरिएका बिरामीको खर्चको ५० प्रतिशत र सिनामंगलमा उपचार गरिएका बिरामीको खर्चको ७५ प्रतिशत रकम नगरपालिकाले शोधभर्ना गर्ने व्यवस्था गरिएको छ।

सम्झौतामा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने गोकर्णेश्वरका स्थायी बासिन्दाका लागि थप तीन लाख नौ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने प्रावधान पनि समावेश गरिएको छ। अन्य सहुलियत तथा सहयोग रकमसमेत जोड्दा एक जना लाभग्राहीले अधिकतम चार लाख १२ हजार रुपैयाँसम्म सहयोग प्राप्त गर्न सक्ने नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार उक्त सम्झौताले आर्थिक रूपमा कमजोर तथा दीर्घ रोगी नागरिकलाई राहत पुग्नुका साथै गुणस्तरीय स्वास्थ्य सेवामा नगरवासीको पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 5 =