सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्यो: महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारका गतिविधिले मुलुकको स्वाधीनता, संसदीय प्रणाली र लोकतान्त्रिक भविष्यमा गम्भीर चुनौती खडा गरेको आरोप लगाएका छन् ।
सोमवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी हस्तान्तरण कार्यक्रममा बोल्दै उनले चुनावपछि राजनीतिक अस्थिरता अन्त्य हुने अपेक्षा भए पनि सरकारका कार्यशैलीले जनमानसमा थप सन्देह पैदा गरेको बताए ।
महासचिव पोखरेलले प्रधानमन्त्रीले देशको स्वाधीनता र राष्ट्रिय हितका पक्षमा दृढतापूर्वक पैरवी गर्न नसकेको टिप्पणी गरे ।
उनका अनुसार वर्षौंदेखि नेपालीले भोगचलन गर्दै आएको जमिनसम्बन्धी विषयमा स्थानीय असन्तोष सम्बोधन गर्नुको साटो सरकारले छिमेकी पक्षधर अभिव्यक्ति दिएको जस्तो देखिएको छ ।
उनले सरकारलाई ‘अविच्छिन्न उत्तराधिकारवाला संस्था’ भन्ने संसदीय मान्यताविपरीत अघिल्लो सरकारका राजनीतिक नियुक्तिहरू एकमुष्ट खारेज गर्ने अभ्यास गलत भएको दाबी गरे ।
महासचिव पोखरेलले भने, ‘अहिलेको अवस्थामा जनताको जनादेश पाए पनि आम जनता आश्वस्त हुन सक्ने वातावरण बनेको छैन। चुनावले अस्थिरता अन्त्य गरे पनि त्यसले झन् बढी सन्देह र चुनौती पैदा गरेको छ।’
उनले सरकारको कार्यशैलीले स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितमा प्रश्न उठाएको दाबी गर्दै सीमा समस्या समाधानमा गम्भीरता नदेखिएको टिप्पणी गरे । उनका अनुसार पुस्तौंदेखि प्रयोग हुँदै आएको जमिनसम्बन्धी विवादलाई गलत रूपमा व्याख्या गरिएको र सरकारको अभिव्यक्तिले नागरिकमा थप आशंका बढाएको छ ।
महासचिव पोखरेलले वर्तमान सरकारको नियुक्ति र छनोट प्रक्रिया पनि प्रभावकारी परिणाम दिने किसिमको नभएको दाबी गरे ।
उनले संसदीय लोकतन्त्रको मर्मविपरीत गतिविधि भइरहेको भन्दै यसले प्रणालीमै असर पार्ने चेतावनी दिए । साथै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे ।
कार्यक्रममा महासचिव पोखरेलले प्रचार तथा प्रकाशन विभागका नवनियुक्त प्रमुख निरज आचार्यलाई पदभार हस्तान्तरण गरेका थिए ।









