दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक जारी
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाको स्थायी कमिटी बैठक जारी छ । जनसंगठनको कार्यालय, पेरिसडाँडामा बैठक चलिरहेको छ ।
आगामी १९ फागुनको दिउँसो १ बजेका लागि पेरिसडाँडामै आह्वान गरिएको पार्टी केन्द्रीय कमिटीको बैठकमा पेश हुने प्रस्तावलाई पूर्ण रुप दिनको लागि स्थायी कमिटीको बैठक बसेको हो ।
कमिटीका सदस्यहरुलाई नागरिकतासहित सहभागी हुन भनिएको कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले मकालु खबरलाई जानकारी दिइन् । ‘बैठकमा आगामी रणनीतिबारे नै छलफल भइरहेको हो,’ नेतृ शाक्यले भनिन्, ‘केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत एजेण्डाबारे नै खास छलफल भएको हो ।’
यो समूहले निर्वाचन आयोग पनि चाँडै निर्णयमा पुग्नुपर्ने बताइरहेको छ । गत २० माघमा आफ्नो दाबी प्रस्तुत गरेको यो समूहले पुनः ताकेता गर्ने बताएको छ । ‘निर्वाचन आयोगको ढिलाइसँग अचम्म लागेको छ,’ अर्का स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले मकालु खबरसँग भनेका छन्, ‘पुनः ताकेता गर्छौँ ।’
आजको बैठकमा निर्वाचन आयोगको बारेमा पनि छलफल हुने बुझिएको छ । यता कानूनका ज्ञाता तथा संविधानका जानकारहरुले पनि निर्वाचन आयोगले आफ्नो भूमिका निभाउन नसकेको बताएका छन् ।