के होला मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव ?

  • धनबल राई

विराटनगर । आइतबार प्रदेश नं. १ को प्रदेश सभा बैठक बस्दैछ । बैठक दिउँसो २ बजे विराटनगरस्थित प्रदेश सभा हलमा बस्न लागेको छ । बैठकअगाडि सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका छन् । समितिको बैठकले प्रदेश सभा बैठकका सञ्चालनको मापदण्ड बनाउनेछ । तर, सत्तासीन नेकपाको केन्द्रमा देखिएको शक्ति असन्तुलनको शृङ्खलालाई भने समितिको बैठकले तत्कालको लागि केही गर्न सक्दैन । परिणामतः आजको बैठक कसरी अगाडि बढ्ला र के के होला भन्ने जिज्ञासा सबैसँग छ । खासगरी मुख्यमन्त्री शेरधन राईविरुद्ध परेको अविश्वासको प्रस्तावबारे बैठकले के निर्णय गर्ला भन्ने विषय अहिलेको सबैको चासोको विषय बनेको छ ।

उसो त यसअघि गत ७ माघमा बसेको सातौं अधिवेशनको पहिलो बैठक पनि सत्तासीन नेकपाको दोहोरो असन्तुष्टिका कारण नै अनिश्चितकालसम्मको लागि स्थगित भएको थियो । करिब ३ मिनेटमै सकिएको उक्त बैठकमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको पत्र मात्रै पढिएको थियो । तत्पश्चात् सभामुख भण्डारीले बैठक अनिश्चितकालसम्मको लागि स्थगित भएको घोषणा गरेको थिए । त्यसो त आजको बैठक निर्णयक बन्छ ? सबैसँग अनुत्तरित प्रश्न छ ।

राजनीतिक र व्यवहारिक रुपमा केन्द्रमै स्पष्ट रुपमा दुई भागमा बाँडिएका नेकपा प्रदेशमा तटस्थ रहने कुरै भएन । तसर्थ, आजैको बैठकमा पनि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको प्रदेशको नेकपाले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव टेबल गर्नुपर्ने अडान राखेको छ भने केपी शर्मा ओली समूह (मुख्यमन्त्री राई समर्थक) ले भने प्रस्ताव टेबल हुन नदिने रणनीति अपनाउँदै आफ्नो समूहले कारबाही गरेको १६ जना सांसदहरुलाई बैठक हलमा प्रवेश नगराउने पक्षमा छन् । तर, निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो (दाहाल–नेपाल पक्ष)ले भने पहिलो बैठकमा प्रवेश दिइएपछि दोस्रो बैठकमा रोक्ने नमिल्ने बताउँछन् । उनले भनेका छन् ‘त्यसको च्याप्टरै क्लोज भइसक्यो । हामी पहिलो बैठकमा मज्जाले पसेर बैठक स्थगित भएपछि निस्किएका हौँ । त्यसकारण प्रवेश दिने र नदिने कुरा गर्नु अहिलेको लागि हाँस्यास्पद हो ।’

तर, यता मुख्मयन्त्री पक्षीय संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी भने निलम्बित सांसदहरुलाई बैठक हलमा प्रवेशै नदिने बताउँछन् । उनको चेतावनी छ कि– ‘निलम्बित सांसदहरुलाई प्रवेश दिइयो भने सदन अवरुद्ध हुन्छ ।’

यता नेकपाबाहेक प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरु भने नेकपाभित्रको आन्तरिक कलहका कारण सदनलाई बन्दी वा अनिर्णित बनाउन नहुने बताउँछन् । नेपाली कांग्रेस प्रदेश नं. १ का दलका नेता राजीव कोइरालाले भनेका छन्, ‘नेकपाभित्रको विवादका कारण सदनलाई अनिर्णयको बन्दी बनाउन हुँदैन ।’ नेता कोइराला पनि अविश्वासको प्रस्ताव जतिसक्दो चाँडो टेबल गरेर त्यसबारे निर्णय लिनुपर्ने बताउँछन् । उनले भनेका छन्, ‘धेरै समयसम्म संसद्लाई अनिर्णयको बन्दी बनाएर राख्न मिल्दैन । प्रस्ताव टेबल गरेर सदन सञ्चालन हुनुपर्छ ।’

मुख्यमन्त्री राईविरुद्ध गत १२ पुषमा नेकपाकै ३७ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका  थिए । तर, अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकामध्ये ५ जना सांसदले भने आफ्नो हस्ताक्षर फिर्ता लिइसकेका छन् ।

प्रदेश नं. १ सभामा कूल ९३ सांसदहरु छन् । जसमा नेकपाका मात्रै ६७ जना रहेका छन् । कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३ र राष्ट्रिय प्रजातन्त्र पार्टी–संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १/१ जना सांसदहरु छन् । नेकपाका ६७ मध्ये मुख्यमन्त्री राईका पक्षमा २८ सांसद मात्रै देखिँदा दाहाल–नेपाल पक्षमा भने ४६ सांसदहरु छन् ।

प्रदेश सभामा अविश्वासको प्रस्ताव सफल वा असफल जे हुन पनि ४७ सदस्यको समर्थन आवश्यक हुन्छ । त्यसो हुँदा नेकपाका दुवै खेमालाई कांग्रेसको साथ आवश्यक छ । कारणतः प्रदेश नं. १ को सत्ता टिकाउने कि ढलाउने भन्ने विषयको निर्कौल कांग्रेसको हातमा छ ।

अहिलेको लागि कांग्रेसको साथ दाहाल–नेपाल क्षलाई नै हुने बुझिएको छ । केही दिनअगाडि विराटनगर पुगेका कांग्रेस नेता शेखर कोइरालाले पनि प्रदेश नेतालाई आफूहरुले दाहाल–नेपाल पक्षलाई सहयोग गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया