प्रदेश सभा बैठक आज, रोक्ने पक्षमा ओली समूह

विराटनगर । प्रदेश १ प्रदेश सभाको हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दैछ । सभामुख प्रदीपकुमार भण्डारीले बैठक दिउँसो २ बजे बस्ने गरी बोलाएका हुन् ।

प्रदेशसभामा नेकपा प्रचण्ड-नेपाल समूहले दर्ता गराएको मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावबाहेकको बिजनेस नभएकाले उक्त प्रस्ताव टेबल हुने निश्चित छ  । तर ओली समूह प्रदेशसभा बैठक नै बस्न नदिने रणनीतिमा छ ।

११ बजेलाई कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाईएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा कुरा नमिलेको अवस्थामा सभामुख प्रदिपकुमार भण्डारीले अधिकार प्रयोग गरेर बैठक संचालन गर्न सक्नेछन् ।

प्रदेश सभा सचिवालयमा ३७ जना सांसदले मुख्यमन्त्री शेरधन राईविरुद्ध पेश गरेको गरेको अविश्वासको प्रस्ताव प्रदेश सभामा टेबुल हुने संभावना छ । त्यसभन्दा पहिला नै मुख्यमन्त्री राईले संसदीय दलको नेताको हैसियतले संसदीय गतिबिधिमा संलग्न हुन नपाउने गरि १६ जनालाई निलम्बन गरेका छन्, भीम आचार्य समूहका १६ जनालाई प्रदेश सभामा छिर्न नदिने दाउमा राई पक्ष छ ।

त्यस्तै भीम आचार्यले कारबाही गरेको भनिएका ८ जनालाई उनीहरु छिर्न नदिने भनेर उभिएको देखिन्छन् । यसबाट प्रदेश सभामा झडपको संभावना देखिन्छ । यदि प्रदेश सभामा दुबै समूहका सांसदलाई छिर्न दिने अवस्था बनेमा वा दुबै समूह आफ्नो निर्णयबाट ब्याक भएमा सदन सुचारु हुनसक्ने केही सांसद बताउँछन् ।

कारबाही र सदनमा प्रबेश गर्न नदिईने भन्ने कोर्ष नै सकिएको आचार्य समूहका नेता तथा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावक ईन्द्र आङ्बो बताउँछन् । उनले आजको कार्यसुची मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावलाई लिईनुपर्ने बताए । ‘हामीले सभामुख ज्युसँग कुरा गरेका छौँ,’ उनले भने, ‘बिधि र प्रक्रियाबाट नै गएकोे अविश्वास प्रस्तावलाई छलफलमा लैजानु पर्छ ।’

संसदमा मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव टेबुल भएमा मुख्यमन्त्री राईको पक्षका सांसदले अविस्वासको प्रस्तावलाई प्रक्रिया नपुगी आएको भन्दै प्रतिवाद गर्ने तयारी गरेका छन् । आचार्य समूहले भने अविश्वास प्रस्तावलाई छलफलमा लग्ने र पास गराएरै छाड्ने बताउँदै आएको छ ।

प्रतिक्रिया