‘नेकपा विवाद’ समाधानपछि मात्र प्रदेश सभाको बैठक

  • सुमन सुस्केरा

विराटनगर । प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशनको पहिलो बैठक तीन मिनेट बसेर अन्त्य भएसँगै अब के होला भनेर जिज्ञासा उत्पन्न भएका छन् । दलहरुले भने नेकपाको आन्तरिक विवाद समाधानपछि मात्र संसद् सुचारु हुने बताएका छन् ।
प्रदेश सभाको बैठक सकिएलगत्तै दाहाल–नेपाल समूहका नेता इन्द्रबहादुर आङ्बोले सरकार र संसद्मा रहेको अन्य दलसँग छलफलको आधारमा आजको बैठक छोटो समय बसेर स्थगित भएको बताए ।

कार्य व्यवस्था परामर्श समितिको बैठकबाट नै प्रदेश प्रमुखले पठाएको अधिवेशन आह्वानसम्बन्धीको पत्र पढेर सुनाउने मात्र भन्ने सहमति भएअनुसार बैठक शुरु भएलगत्तै पत्र पढेर सकिएको प्रष्ट्याए । ‘उपयुक्त समयमा प्रदेश सभाको बैठक बोलाउनेगरी अहिले स्थगित भएको छ’, उनले भने, ‘सबै दलहरुसँगको सहमतिमा सभामुखले बैठक बोलाउनुहुने छ ।’
संसद नियमावलीको आधारमा प्रदेश सभा सचिवालयमा पेश भएको अविश्वासको प्रस्ताव उपयुक्त समयमा टेबुल हुने र छलफलमा जानेमा आफू विश्वस्त भएको आङ्बोले दाबी गरे ।

प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सबै प्रक्रिया अन्त्य गर्नको लागि लामो समयको लागि सदन स्थगित भएको बताए । अविश्वासको प्रस्ताव, कारबाहीको कानूनी प्रक्रिया र राजनीतिक रुपबाट पनि समाधान गरिनुपर्ने भन्ने हिसाबले कुरा आएपछि त्योतर्फ केन्द्रित भएर संसद्को बैठक स्थगन भएको उनको भनाइ छ । ‘कारबाहीमा परेका १६ जना माननीयलाई के गर्ने भन्ने बारेमा छलफल हुन बाँकी छ’, उनले भने, ‘हामीले छलफल गरेर के गरी समाधान गर्न सकिन्छ भनेर निचोड निस्किएपछि मात्र संसद्का थप प्रक्रिया अघि बढछ ।

प्रदेश सभामा पेश भएको अविश्वासको प्रस्तावलाई फेस गर्ने र टेबुल भएपछि पूर्णतः असफल हुने राजभण्डारीको भनाइ छ । पहिलो काम नेकपाभित्रको दलको विवाद समाधान गरेपछि मात्र अविश्वासको प्रस्ताव टेबुल गरेर छलफलमा अघि बढ्ने राजभण्डारीले बताए ।

उनका अनुसार प्रदेश सभाको अर्को बैठक माघको १६ गतेसम्ममा बस्न सक्ने संभावना रहेको छ ।

प्रतिक्रिया