प्रधानमन्त्री ओलीको सांसद र पार्टीका कार्यकर्तासँग भेट गर्ने कार्यतालिका सार्वजनिक

काठमाडौं, असार १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद र पार्टीका कार्यकर्तासँग साप्ताहिक र पाक्षिकरूपमा नियमित भेट गर्ने कार्यतालिका सार्वजनिक गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेतासमेत रहनु भएका प्रधानमन्त्री ओलीले नियमित भेटघाटका अतिरिक्त हरेक शुक्रबार नेकपाका सांसदहरूलाई भेटघाट गर्नु हुनेछ ।

शुक्रबार अपरान्ह ३ देखि ५ बजे सांसदले प्रधानमन्त्रीलाई सिंहदरबारमा भेट गर्न पाउने गरी व्यवस्था मिलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले मङ्गलबार जारी गर्नुभएको प्रेस नोटमा उल्लेख छ ।

प्रधानमन्त्री एवं संसदीय दलका नेता ओलीसँग साप्ताहिकरुपमा क्रमशः सातवटै प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसदले भेटघाट गर्न पाउने व्यवस्था गरिएको छ । त्यसैगरी प्रधानमन्त्रीले नियमितरुपमा हरेक महिनाको १ र १५ गते नेकपाका कार्यकर्तालाई भेटघाट गर्नु हुनेछ ।

यस्तै, उहाँले हरेक महिनाको पहिलो दिन बिहान ११ देखि दिउँसो १ बजेसम्म नेकपाको ध्रुम्रबाराहीस्थित कार्यालयमा र १५ गते पेरिस डाँडास्थित कार्यालयमा पार्टी कार्यकर्तालाई भेट्नु हुने कार्यतालिका छ । दुई ठूला कम्युनिष्ट पार्टीबीच एकीकरण भई नेकपाको गठन भएपछि धुम्रबाराही र पेरिसडाँडाबाट पार्टीका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 19 =