पार्टीको पुनर्गठन गर्न गोपाल किराँतीले बोलाए महाधिवेशन , आयोजक समिति गठन

“
काठमाडौं,जेठ,३० । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र परित्याग गरेको आरोप लगाएका छन् ।
बुधबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष किराँतीले आफूहरु अब रुपान्तरणसहितको नेकपा माओवादी केन्द्रको निर्माणमा लागिरहेको बताए।
उनले भने, ‘प्रचण्डले जनयुद्धको कार्यदिशा र जनयुद्धका मुद्दाहरु छोडेर तात्कालीन एमालेमा प्रवेश गर्नुभयो, उहाँले जनयुद्धको धावनमार्ग भत्काउनुभयो, हामी त्यसलाई पुनःनिर्माण गर्न जुटेका छौं, आगामी कार्तिकमा राष्ट्रिय भेला बोलाउने र फागुन १ गते जनयुद्ध दिवसको दिन पार्टीको महाधिवेशन गर्ने लक्ष्यकासाथ अघि बढेका छौं ।’
सो पार्टीले मंगलबार राजधानीको कमलादीस्थित् प्रज्ञा भवनमा बसेको बैठकले पार्टीको आगामी पार्टीको महाधिवेशन आयोजक समिति गठन गरेको छ ।
आयोजक समितिको अध्यक्षमा गोपाल किरातीलाई चयन गरिएको छ । उपाध्यक्षमा भविश्वर पराजुली र तिलक थापामगर, महासचिवमा कर्णजित बुढाथोकी र सचिवमा राजन तिम्सिना रहेको सो पार्टीले आज प्रकाशित गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
“








