विषादी परीक्षणबारे प्रधानमन्त्रीः ‘भारतबाट पत्र आएको जानकारी दिइएन’

 

असार २६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएको पत्र गोप्य राख्दा आफू लज्जित हुनुपरेको दाबी गरेका छन् । 

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई भारतबाट आएको पत्रबारे जानकारी नदिइएको भन्दै यसबारे खोजविन भइरहेको बताए । 

null

कार्यक्रममा उनले भने, ‘भारतबाट पत्र आएको रहेछ । भारतबाट आएको पत्र गोप्य राखियो । मैँले आएको छैन भनेर सार्वजनिक रुपमा बोलेँ । विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु र मलाई जानकारी नदिनुले म लज्जित हुनुपर्‍यो । यसप्रति म क्षमाप्रार्थी छु ।’ 

प्रम ओलीले बुधबार बेलुका प्रसारण भएको जनतासँग प्रधानमन्त्री कार्यक्रममा पनि भारतीय पक्षले पठाएको पत्रबारे आफूलाई सुरुमा थाहै नदिएर गुमराहमा राखिएको दाबी गरेका थिए । 

प्रधानमन्त्रीको हैसियतमा आफूले त्यसबारे जानकारी पाउनुपर्नेमा कर्मचारी पंक्तिले भ्रममा राखेको हुनसक्ने आशंका गर्दै ‘जानेर या नजानेर दुवै कारणले कर्मचारी पंक्तिबाट यस्तो भएको हुनसक्छ । र, मलाई जसले जानेर भ्रममा राख्यो वा अन्जानमा बताउन भुल्यो, जेसुकै होस् मसँग त्यो कुरा आएन र मैँले प्रधानमन्त्रीको हैसियतमा त्यो जानकारी पाउनुपर्थ्यो’, उनले कार्यक्रममा भनेका छन् । 

नेपालीको भान्सामा विषादी पाक्न हुँदैन, शुद्ध खाना हुनुपर्छ भन्ने सरकारको उद्देश्य भएको भन्दै प्रधानमन्त्री ओलीले सरकारविरुद्ध चलाएको मिसन पूरा हुन नदिने पनि बताए । 

प्रम ओलीले सार्वजनिक कार्यक्रममा पटक पटक भारतबाट पत्र आएको नभइ पूर्वाधार नपुगेका कारण विषादी परीक्षण रोक्नुपरेको दाबी गर्दै आएका थिए । 

यद्यपी विषादी परीक्षण रोक्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले आदेश जारी गरिसकेको छ । 

बुधबार उपभोक्ता हित संरक्षण मञ्च, स्वतन्त्र राष्ट्रिय अभियान र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले दर्ता गराएको रिटको सुनुवाई गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले विषादी परीक्षण नरोक्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो । 

असार ३० गते रिटका दुबै पक्षलाई अदालतले छलफलका लागि झिकाएको छ। उक्त छलफलपछि अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्नेबारे सर्वोच्चले अर्को निर्णय गर्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eleven =