एमाले नेता तिमिल्सेना बन्ने भए राष्ट्रिय सभा अध्यक्ष

काठमाडौं, फागुन २८ । नेकपा एमालेले पोलिटब्यूरो सदस्य एवं प्रदेश ४ का सहसंयोजक गणेश तिमल्सिनालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रिय सभा अध्यक्षका लागि आज मनोनयन दर्ता हुँदैछ । अध्यक्ष पदको निर्वाचन भने बुधबार हुनेछ ।

एमाले नेता तिमिल्सेना प्रदेश ४ बाट राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएका हुन् । एमालेभित्र पुराना नेता भए पनि अवसर नपाउने व्यक्तिका रूपमा गणेश तिमिल्सेनालाई चिनिन्छ । उनी पञ्चायती व्यवस्थामा चार वर्षसम्म जेल बसेका थिए ।

अध्यक्ष पदका लागि पर्शुराम मेघी गुरुङ, गणेशप्रसाद तिमिल्सेना, सुमन प्याकुरेल, बलराम बास्कोटा, खिमलाल भट्टराई, शेरबहादुर कुँवरलगायत आकांक्षी थिए । अध्यक्षका अर्का दावेदार परशुमेघी गुरुङलाई राष्ट्रियसभा दलको नेता बनाउने निर्णय भएको कार्यालय सचिव एवं सांसद कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

माओवादीसँग भएको सहमतिअनुसार एमालेले राष्ट्रियसभाको अध्यक्ष पाएको छ । सभामुख भने माओवादीबाट कृष्णबहादुर महरा बनिसकेका छन् । सभामुख पद लिएको माओवादीले राष्ट्रियसभा अध्यक्षमा भने एमालेलाई सघाउने छ ।

राष्ट्रिय सभामा ५९ सांसद छन् । एमालेबाट २७, कांग्रेसबाट १३, माओवादीबाट १२ तथा संघीय समाजवादी फोरम र राजपाबाट २–२ जना सांसद छन्।

सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनित डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला पौडेलले भने भोट हाल्न नपाउने भएका छन्। उनीहरुको शपथअघि नै मतदाताहरुको अन्तिम नामावली सार्वजनिक भइसकेकाले थपघट गर्न नमिल्ने निर्वाचन आयोगको भनाइ छ ।

अदालती विवादका कारण खतिवडा, बिडारी र पौडेलले बिहीबारमात्रै शपथ लिएका थिए । जबकी मतदाता नामावली बुधबार नै प्रकाशित भइसकेको थियो । मतदाता नामावली सम्बन्धी ऐनमा अन्तिम मतदाता नामावलीमा अब कुनै प्रकारबाट हेरफेर, थपघट गर्न वा सच्याउन नसकिने उल्लेख छ । फागुन २२ गते नै निर्वाचक मण्डलका सदस्यहरुको अन्तिम नामावली प्रकाशित भइसकेकाले अब मतदाता थप्न नसकिने आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *