उत्तर कोरिया ‘क्रुर तानाशाह’ : राष्ट्रपति ट्रम्प

सोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई क्रुर तानाशाहको संज्ञा दिनुभएको छ । मङ्गलवार दक्षिण कोरिया पुग्नुभएका उहाँले बुधवार बिहान कोरियाली राजधानी सोलमा सो धारणा राख्नुभएको हो । दक्षिण कोरियाको संसदलाई बुधवार बिहान सम्बोधनगर्दै उहाँले सो धारणा राख्नुभएको समाचारमा जनाइएको छ । एसियाको भ्रमणका क्रममा आइतबार जापान पुग्नुभएका उहाँ जापानबाटै मङ्गलवार दक्षिण कोरिया पुग्नुभएको हो ।

आफ्नो यस एसिया भ्रमणका क्रममा प्राय उत्तर कोरियाका विरुद्धमा निकै आक्रामक बन्दै आउनुभएका राष्ट्रपति ट्रम्पले बुधवार बिहान दक्षिण कोरियाली संसदलाई सम्बोधन गर्दै अमेरिकालाई कमजोर नठान्न पनि उत्तर कोरियालाई चेतावनी दिनुभएको छ । उहाँले भन्नुभयो– उत्तर कोरियाजस्ता क्रुर र तानाशाहले अमेरिकालाई कमजोर ठान्ने होइन, आवश्यक पर्दा अमेरिकाले पनि देखाइदिनसक्छ ।

गएको २४ वर्षपछि पहिलो पटक अमेरिकी राष्ट्रपतिको हैसियतमा कोरिया पुग्नुभएका ट्रम्पले उत्तर कोरियाको निकै आलोचना गर्नुभयो । उहाँले उत्तर कोरियालाई अत्याचारी, क्रुर र तानाशाही सासको संज्ञा पनि दिनुभयो । पछिल्लो समयमा उत्तर कोरियाका कारणले उसको छिमेकी देश दक्षिण कोरिया र जापानलाई पनि ठुलो चुनौती भएको छ । उत्तर कोरियाले दक्षिणका विरुद्धमा क्षेप्यास्त्र परीक्षण पनि गर्ने गरेको छ ।

यस्तो अवस्थमा उत्तर कोरियाले प्रमुख दुश्मनी ठानेको अमेरिकाका राष्ट्रपतिको दक्षिण कोरिया भ्रमण हुनुलाई राजनीतिक रूपमा पनि ठुलो महत्वका साथ हेरिएको विश्व समुदायको विश्लेषण छ । उहाँले उत्तर कोरियालाई एक्लो बनाउन विश्वका सबै देशलाई आग्रह पनि गर्नुभयो । उहाँले चीनलाई पनि उत्तर कोरियाका कारणले विश्वमा मानवीय सभ्यता र शान्तिमाथि नै धावा बोलिरहेको अवस्थामा उसलाई साथ नदिन आग्रह गर्नुभएको थियो । उहाँले उत्तर कोरियाका विरुद्धमा संसद्मा कडा सम्बोधन गरिरहँदा दक्षिण कोरियाका सांसदहरुले निकै उत्साहित भएर ताली ठोकेका थिए । उहाँको सम्बोधनको उनीहरूले समर्थन गरेका थिए ।

एसिया भ्रमणको मुद्दा उत्तर कोरिया

उहाँको यस एसियाको भ्रमणको मुद्दा विशेषतः उत्तर कोरिया बनेको छ । उत्तर कोरियाको आणविक कार्यक्रम उहाँको मुद्दा बनिरहेको उहाँका जापान र दक्षिण कोरिया भ्रमणका अभिव्यक्तिहरुले पनि देखाएको छ । राष्ट्रपति ट्रम्पले मङ्गलवार मात्र पनि उत्तर कोरियालाई आफ्ना सबै परमाणु हतियारहरु परित्याग गरेर वार्ताको टेबलमा आउन र सबै विषयमा छलफल गर्न आह्वान गर्नुभएको थियो ।

राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा मङ्गलवार मात्र गर्नुभएको सम्बोधनमा अमेरिकाले प्योङयाङका विरुद्धमा सेना परिचालन गर्ने अवस्था नआओस भनेर पनि सोचिरहेको स्पष्ट गर्नुभएको थियो । एसिया भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा उहाँका समकक्षी मुन जाय यिनसँग पत्रकार सम्मेलनमा बोल्दै सो धारणा राख्नुभएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि भने आवश्यक परेमा उत्तर कोरियाका विरुद्धमा अमेरिकाले आक्रमण पनि गर्नसक्ने चेतावनी दिनुभएको थियो । उहाँले एसियाका पाँच देशको भ्रमणमा हुनुहुन्छ । तर, यी सबै देशको भ्रमणमा पनि उहाँको मुद्दा उत्तर कोरिया र विशेषगरी यसको परमाणु हतियारको महत्वाकांक्षा बनेको छ । दक्षिण कोरियाको राजधानी सोलमा आयोजित सो विशेष पत्रकार सम्मेलनमा ट्रम्प र मुन नै उत्तर कोरियाका विरुद्धमा खनिनुभएको थियो ।

उहाँहरूले उत्तर कोरियाका सामु परमाणु हतियारविहीन बन्नु बाहेकको अर्काे विकल्प नरहेको कुरा बारम्बार दोहाराउनुभएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले सुरुमै उत्तर कोरिया वार्ताको टेबलमा आएर सबै आफ्ना कुरा राख्ने र शान्तिपूर्ण रूपमा अघि बढ्न सकेमा मात्र उत्तरका लागि हित हुने सुझाव प्रस्तुत गर्नुभएको थियो । रासस/एएफपी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − ten =