नारायणी नदी किनारमा छठको रौनक !

भरतपुर,कात्तिक ९ । कञ्चन नारायणी नदी,कलकल बगेकी छन् । नदी किनार आज बिहीबार दुलहीभन्दा कम झकीझकाऊ छैन । बुधवार साँझबाट नारायणी नदी किनार झकिझकाउ बनाउने काम सम्पन्न भएको छ । आज बिहीबार छठ पर्वको मुख्य दिन हो । बिहीबार छठ पर्व मनाउने सुरसार गरेका हिन्दु धर्मावलम्बीहरुले बुधवार साँझदेखि नै नारायणी नदी किनारलाई सिँगारेर झकिझकाउ पारेका थिए ।

सम्भवतः छठ पर्व हिन्दु धर्मावलम्बीको एउटा यस्ता पर्व हो, जसमा पुजारी र पुरोहितको आवश्यक पर्दैन । छठमा अर्घ दिइने सूर्य भगवानलाई प्रत्यक्ष रूपमा देखिने भएकाले यस पर्वमा कुनै पुजारी र पुरोहित नचाहिने धार्मिक मान्यता रहेको छ ।

विशेषगरी तराईमधेसमा बस्नेले यस पर्व मनाउँछन् । चितवनमा बसोबास गरेर आफ्नो गृह जिल्ला जान नपाएका तराई मूलका बासिन्दाले छठ पर्व मनाउनको लागि नारायणी नदी किनारमा सिँगारेर दुलहीजस्ती बनाएका छन् । चार दिनसम्म मनाइने छठ पर्वको आज बिहीबार मुख्य दिन हो ।

‘आज बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ र भोलि शुक्रवार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्वको समापन गरिन्छ’ तराई सामुदायिक सेवा समिति नारायणगढअन्तर्गत रहेको छठ पूजा समितिका संयोजक मनोजकुमार कानुनले भने । उनले मङ्गलवारदेखि शुक्रवारसम्म चार दिन छठ पर्व मनाइने बताए ।अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिँदा कुनै पुजारी आवश्यक पर्दैन । व्रतालुहरू सूर्यमन्त्र उच्चारण गर्दै अर्घ अर्पण गर्ने चलन रहेको तराई सामुदायिक सेवा समितिका कार्यसमिति सदस्य गंगाप्रसाद शाहले बताए । अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेर प्रारम्भ हुने यो व्रत भोलिपल्टको उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेर बिसर्जन हुने उनको भनाइ थियो ।

निकै पवित्र, सफा सुग्घर र स्निग्ध वातावरणमा मनाइने यो पर्व धेरै दृष्टिकोणबाट मननयोग्य छ । भाइटिका र भैया दुज (गोधन) को दिनबाट सुरु भएर नहाए खाए, रसियाव रोटी, सन्ध्याघाट र पारन गरेर यो पर्व सकिन्छ । बुधवारको दिनलाई खर्ना भनिन्छ । यो दिन महिलाहरू वर्त बस्ने चलन पनि छ ।

कात्तिक शुक्ल षष्ठी तिथिका दिन नेपाल र भारतमा धुमधामका साथ मनाइने निकै चर्चित पर्व हो छठ । यो पर्व षष्ठी पूजाको अपभ्रंशका रूपमा आएको हो । यस पर्वमा सूर्यको उपासना गरिन्छ र छठी माता (श्रीसपता) को पूजा गरिन्छ । तराई मैथिली समुदायमा धुमधामले मनाइने छठ पर्व बिस्तारै पहाडी भेग तर्फ पनि छठ पर्व मनाइन थालिएको छ ।

यस्तो छ जनविश्वास
छठ पर्वमा महिलाहरू व्रत पनि बस्ने गर्छन् । दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वासका साथ महिलाहरू व्रत बस्ने चलन छ । छठ पर्वमा बिहान उदाउँदो सूर्यलाई अर्घ दिइन्छ । बुधवार सूर्यलाई पूजा गरेर रातभरि जाग्राम बस्ने र बिहीबार बिहान उदाउँदो सूर्यलाई प्रसाद चढाएपछि छठ पर्व सकिन्छ ।
नारायणगढमा बस्ने सोनु झाले भनिन्, ‘भगवानप्रतिको आस्था र विश्वासले गर्दा हरेक वर्ष छठ पर्व मनाउँदै आएको छु ।’ उनले विगतका वर्षहरुदेखि नै छठ पर्र्व मनाउँदै आएको र आफ्नो मनोकांक्षा पूरा हुने गरेको बताइन् । उनले सानैदेखि छठ पर्वप्रति लगाव भएको र हरेक वर्ष यो पर्व धुमधामले मनाउँदै आएको बताइन् । उनले भनिन्, ‘छैटी माताले आफ्नो मनोकांक्षा पूरा गरेको र छठ पर्वमा व्रत बस्दा आत्मविश्वास समेत बढ्ने गरेको छ ।’

यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिएर पूजा बिसर्जन गरिन्छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने जनविश्वास पनि छ ।

छठ पर्वको इतिहास
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यो समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम त्यही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − four =