इरानसँगको आणविक सम्झौताबाट पछि हट्ने अमेरिकी राष्ट्रपति ट्रम्पको धम्की

“
काठमाडौं, असोज २८ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि विभिन्न आरोप लगाउँदै उसंगको आणविक सम्झौताबाट पछि हट्ने धम्की दिएका छन् ।
उनले तत्काल इरानसँगको सम्झौता खारेज नगरे पनि त्यसलाई प्रमाणीकरण नगर्ने बताए । सम्झौताको भविष्यबारे अब अमेरिकी कांग्रेसले टुंगो लगाउने छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको सम्झौतामा हस्ताक्षर गरेका शक्ति राष्ट्रहरुको पनि निन्दा गरे । सम्झौतामा भएका कमजोरीहरु सच्याउन आफूले कंग्रेस र अमेरिकी साझेदारहरुसँग मिलेर काम गर्ने उनको भनाई थियो ।
इरानको आणविक कार्यक्रम सीमित पार्न सन् २०१५ मा अमेरिका लगायतका शक्ति राष्ट्र र इरानबीच सम्झौता भएको थियो । तेहरानले पटक–पटक सम्झौताको उल्लंघन गरेको ट्रम्पको आरोप छ । तर अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले भने इरानले सम्झौताको पूर्ण पालना गरिरहेको बताउँदै आएका छन् ।
ट्रम्पले इरानले आतंकवाद प्रायोजित गरेको आरोप लगाउँदै उसलाई उत्तर कोरिया जस्तै गरि परमाणु खतरा बन्न भने नदिने उल्लेख गरे । यता, इरानी राष्ट्रपति हसन रुहानीले सम्झौतालाई ट्रम्पले एकलौटी ढंगले उल्ट्याउन नसक्ने जिकिर गरे । रुहानीले इरानको स्वार्थमा रहुञ्जेल सम्झौताप्रति प्रतिबद्ध रहने स्पष्ट पारे ।(एजेन्सी)
“








