उत्तर कोरियासँग अमेरिका किन डराउँछ ? मुख्य कारण यस्ता छन्

प्योङयाङ्ग, साउन २८ । उत्तर कोरिया र अमेरिकाबीच वाकयुद्ध तीव्र हुँदै गएको छ । अमेरिकाले उत्तर कोरियालाई परमाणु कार्यक्रमसम्बन्धि उत्तेजना कायमै राखे तहसनहस पारिदिने चेतावनी दिएलगत्तै उत्तर कोरियाले पनि गुआममा रहेको अमेरिकाको सैन्य अखडामा हमला गर्ने योजना प्रकाशमा ल्याएको छ ।

दुवै मुलुकले एक–अर्काप्रति धाकधम्की दिदैं आएका छन् । अमेरिकाजस्तो महाशक्ति राष्ट्रका सामू उत्तर कोरिया किन डराइरहेको छैन ? जिज्ञासा उत्पन्न हुनु स्वाभाविक पनि हो । परमाणु हतियार धमाधम विकसित गर्दै आएको उत्तर कोरियासँग परमाणु शक्तिका अतिरिक्त पनि केही यस्ता हतियार छन्, जसका कारण अमेरिकासमेत युद्धमा होमिन हिच्किचाउने गर्दछ ।

उत्तर कोरिया गरिब मुलुक भए पनि सैन्य शक्तिमा कमजोर छैन । मुलुकको अस्तित्व जोगाउन भन्दै उत्तर कोरियाले परमाणु र क्षेप्यास्त्र कार्यक्रममा ठूलो लगानी गर्दै आएको छ ।

परमाणु हतियारका अतिरिक्त उत्तर कोरियासँग पारम्परिक र गैर परमाणु सामरिक हतियारको पनि ठूलो भण्डार छ । इतिहासलाई फर्केर हेर्ने हो भने उत्तर कोरियाले आफ्नो सैन्य शक्ति प्रयोगमा कहिल्यै कञ्जुस्याई गरेको देखिदैंन । अर्थात्, उत्तर कोरिया प्रत्याक्रमणको रणनीतिमा मात्र नभएर आक्रमणका लागि समेत तयार रहने गरेको देखिन्छ । सन् २०१० मा उत्तर कोरियाले दक्षिण कोरियाको एउटा लडाकु जहाजलाई डुबाइदिएको घटनाबाट पनि यो पुष्टि हुन्छ ।

उत्तर कोरियाको रक्षा क्षेत्रमा कुल जनसंख्याको ५ प्रतिशत जनशक्ति छ । ११ लाखको हाराहारीमा सेना रहेको उत्तर कोरियामा ७० लाख अतिरिक्त जनशक्ति पनि अर्द्ध सैन्य क्षेत्रमा क्रियाशील छ । रेड वर्कस, रेड युथ गार्डस्, मिलिट्री ट्रेनिङ्ग रिजर्भ युनिट लगायतमा उक्त जनशक्ति परिचालन गरिएको छ ।

अमेरिकी विदेशमन्त्रालयका अनुसार उत्तर कोरियाले आफ्नो सकल घरेलु उत्पादनको १५ देखि २४ प्रतिशतसम्म रक्षा बजेटमा खर्च गर्दै आएको छ ।

उत्तर कोरियासँग कस्ता हतियार छन् ? 

विभिन्न स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएअनुसार उत्तर कोरियासँग ८१० लडाकु विमान छ । त्यस्तै निगरानी र नियन्त्रण क्षमता भएका ३० विमान, ३३० मालवाहक विमान, १७० ट्रेनिङ विमान र २९० हेलिकोप्टर पनि उत्तर कोरियासँग छ ।

उत्तर कोरियासँग विभिन्न प्रकारका रासायनिक हतियारसमेत रहेको बताइन्छ । मस्टर्ड ग्यास, क्लोरिन, सारिन लगायतका रासायनिक हतियार पनि उल्लेख्य रुपमा उत्तर कोरियासँग रहेको विभिन्न संचारमाध्यमले जनाएका छन् । यस्ता हतियार २,५०० देखि ५,००० टनसम्म रहेको अनुमान छ ।

यस्तै जैविक हतियारमा पनि उत्तर कोरिया धनी नै छ । त्यस्तै शत्रु राष्ट्रको रक्षा सम्बन्धि प्रोग्रामसमेत प्रभावित पार्न सक्ने गरी साइबर हमला गर्ने सामर्थ्य पनि उत्तर कोरियाको छ ।

उत्तर कोरियासँग ४३० सरफेस भेइकल, २५० हजार, २० ड्रेगामाइन, ४० सहायक नाउ र ७० पनडुब्बी रहेको बताइन्छ । यसअतिक्ति उसका साथ करिब ४,३०० ट्यांक, २,३०० बख्तरबन्द गाडी, ५,५०० मल्टिपल रकेट लञ्चर, १० मल्टिपल १० एमएम रकेट लञ्चर पनि छ ।

बाहिरी दुनियाँलाई उत्तर कोरियाको वास्तविक सैन्य क्षमताको प्रष्ट जानकारी नहुनु स्वाभाविक पनि हो । उत्तर कोरियामा सरकार नियन्त्रित संचारमाध्यमले सरकारी दृष्टिकोण अनुसारमात्र रक्षा सम्बन्धी समाचार प्रकाशमा ल्याउने गर्दछन् ।

उत्तर कोरियासँग युद्ध गरिहाल्ने सोचमा अमेरिका नरहेको अमेरिकी अधिकारीहरुले अप्रत्यक्ष रुपमा बताउँदै आएका छन् । परमाणु हतियार सम्पन्न मुलुक उत्तर कोरियासँग युद्ध भएको अवस्थामा अमेरिकी धर्तीमा परमाणु हतियार खसोस भन्ने चाहना अमेरिकाको नरहेको उनीहरुको भनाइ छ । युद्ध भइसकेको अवस्थामा अमेरिकी धर्तीलाई परमाणु हतियारबाट सुरक्षित राख्न सम्भव हुँदैन ।

अमेरिकासँग क्षेप्यास्त्र प्रतिरोधी प्रविधि भए पनि त्यसले कति प्रभावकारी रुपमा काम गर्छ भन्नेमा प्रश्न उठ्ने गरेको छ । विज्ञहरुका अनुसार सबै क्षेप्यास्त्रलाई रोक्न उक्त प्रतिविधि सक्षम नै हुन्छ भनेर विश्वास गरिहाल्ने अवस्था छैन । यस्तो अवस्थामा उत्तर कोरियाले प्रहार गर्ने क्षेप्यास्त्रमध्ये केहीले लक्ष्य प्राप्ति गर्न सक्ने र त्यसबाट अमेरिकामा ठूलो क्षति हुनसक्ने आँकलन पनि गरिएको छ । जसका कारण पनि अमेरिकाले उत्तर कोरियासँग तत्काल युद्धको विकल्प खोज्नु परेको हो ।

नाम उल्लेख नगर्ने शर्तमा एक अमेरिकी अधिकारीले रोयटर्स समाचार एजेन्सीलाई भने, ‘धम्की दिनुको अर्थ युद्ध होइन ।’ पछिल्ला दिनमा अमेरिका र उत्तर कोरियाले एकअर्कालाई धम्की दिए पनि त्यसले युद्ध सुरु भइहाल्छ भन्ने संकेत नगरेको उनको बुझाइ छ ।

न्यूयोर्क टाइम्सका स्तम्भकार म्याक्स फिशर पनि यस्ता कुनै टिप्पणीका आधारमा युद्ध हुन्छ भनेर आफूहरुले विश्वास नगरेको बताउँछन् ।

जुलाइमा उत्तर कोरियाले दुई इन्टर कन्टिनेन्टल मिसाइल परीक्षण गरेपछि अमेरिकाले प्रत्यक्ष युद्धभन्दा पनि संयुक्त राष्ट्रसंघमार्फत उत्तर कोरियामाथि लगाम लगाउन प्रयास गर्दै आएको छ । पछिल्ला दिनमा उत्तर कोरियामाथि अमेरिकाले थप प्रतिबन्ध लगाएको छ । यसअतिरिक्त उसले चीन र रुसजस्ता उत्तर कोरियाका मित्र राष्ट्रलाई विश्वासमा लिइ तनाव कम गराउन कुटनीतिक पहल पनि थालेको छ । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *