नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न सहयोग

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टिविहीन बालबालिकाका लागि निर्माण भएको आवासीय भवनमा आर्थिक सहयोग गरेको छ।
काठमाडौं राउण्ड टेबल–१ मार्फत त्रिनेत्र फाउन्डेसनलाई प्रदान गरिएको सहयोगबाट बनेको भवनमा ६० जना दृष्टिविहीन बालबालिका बस्न सक्नेछन्। भवनमा छात्रावास, कक्षाकोठा, ब्रेल पुस्तकालय, संगीत कक्ष, सरसफाइ तथा अन्य आवश्यक सुविधा रहेका छन्।

यसअघि फाउन्डेसनले भाडाको सानो घरबाट सेवा दिँदै आएको थियो। नयाँ भवन सञ्चालनमा आएपछि बालबालिकाले सुरक्षित आवास, गुणस्तरीय शिक्षा र जीवनोपयोगी सीप सिक्ने अवसर पाउनेछन्।
नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले व्यवसायसँगै समाजमा सकारात्मक योगदान दिनु कम्पनीको प्राथमिकता रहेको बताउँदै दृष्टिविहीन बालबालिकाको उज्ज्वल भविष्यका लागि सहयोग गर्न पाउँदा खुशी लागेको बताए।

उनले भने, ‘नेपाल लाइफले व्यावसायिक सफलतालाई मात्र होइन, समाजमा सिर्जना गर्न सक्ने सकारात्मक प्रभावलाई पनि वास्तविक सफलताको मापदण्ड मान्दै आएको छ। त्रिनेत्र फाउन्डेसनमार्फत दृष्टिविहीन बालबालिकालाई सुरक्षित आवास, गुणस्तरीय शिक्षा तथा आत्मनिर्भर जीवनतर्फ अग्रसर हुने अभियानमा सहकार्य गर्न पाउँदा हामी खुसी छौं ।’








