नेपाल लाइफद्वारा १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन, जीवन बीमा इतिहासमै ऐतिहासिक कीर्तिमान

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको जीवन बीमा इतिहासमै अर्को नयाँ र ऐतिहासिक कीर्तिमान कायम गरेको छ ।

स्थापनाको २५ वर्ष पूरा गरी रजत वर्ष (सिल्भर जुबिली) मनाउने क्रममा रहेको कम्पनीले पहिलो पटक १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको हो ।

कम्पनीले गत आर्थिक वर्षमा १० अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । यस वर्ष उक्त रेकर्डलाई तोड्दै १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क संकलन गरी जीवन बीमा उद्योगमा नयाँ मानक स्थापित गरेको छ ।

यस ऐतिहासिक सफलताका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले प्रसन्नता व्यक्त गरेका छन् । उनले कम्पनीलाई निरन्तर मार्गदर्शन प्रदान गर्ने सञ्चालक समिति, नेपाल लाइफप्रति अटल विश्वास राख्ने बीमित ग्राहकहरू, र कम्पनीको मेरुदण्डका रूपमा रहेका समर्पित बीमा अभिकर्ताहरूलाई धन्यवाद दिएका छन् ।

साथै, उनले कर्मचारी, शेयरधनी, नियामक निकाय तथा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सम्पूर्ण सरोकारवालाहरू प्रति हार्दिक आभार प्रकट गरे ।

‘२५ वर्षको विश्वास, आज १३ अर्बको ऐतिहासिक उपलब्धि’ भन्ने नाराका साथ कम्पनीले यो गौरवमय सफलतालाई सम्पूर्ण सरोकारवालाहरूको साझा सफलताका रूपमा लिएको जनाएको छ ।

नेपाल लाइफले आगामी दिनमा अझ थप प्रविधिमैत्री तथा ग्राहकमैत्री सेवा, नवीन बीमा योजनाहरू, प्रभावकारी लगानी व्यवस्थापन र अभिकर्ता तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्दै विश्वस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − three =