घट्यो बजाजको ईएमआई, अब मासिक किस्ता झन् सस्तो

काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) सँगको सहकार्यमा नयाँ फाइनान्सिङ सुविधा सार्वजनिक गरेको छ ।
यस नयाँ योजनाअन्तर्गत अब बजाज मोटरसाइकल खरिद गर्दा ३ वर्षको सट्टा अधिकतम ५ वर्ष (६० महिना) सम्मको ऋण सुविधा उपलब्ध हुनेछ । यस व्यवस्थासँगै मासिक किस्ता (इएमआई) उल्लेख्य रूपमा घट्ने भएकाले पहिलो पटक मोटरसाइकल खरिद गर्ने युवा, जागिरे, परिवार तथा मासिक बजेटलाई प्राथमिकता दिने ग्राहकहरूका लागि बजाजको स्वामित्व अझ सहज बन्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस योजनामा ऋणको अवधि मात्र बढाइएको छैन, ब्याजदर पनि ९.९९ प्रतिशतबाट घटाएर ८.९९ प्रतिशत कायम गरिएको छ । यसले ग्राहकको मासिक आर्थिक भार थप कम गर्न सहयोग गर्ने विश्वास कम्पनीको छ । यो सुविधा प्लाटिना १००इएस देखि डोमिनार ४०० सम्मका सम्पूर्ण बजाज मोटरसाइकलमा लागू हुनेछ । नयाँ फाइनान्सिङ व्यवस्थाअनुसार प्लाटिना १०० इएस मा मासिक किस्ता करिब रु. ३,२५५ बाट घटेर रु. २,१२४ पुगेको छ भने ग्राहकले हरेक महिना करिब रु. १,१३१ बचत गर्न सक्नेछन् ।
त्यस्तै, डोमिनार ४०० मा मासिक किस्ता करिब रु. ८,२२७ बाट घटेर रु. ५,३७० मा झरेको छ, जसले मासिक करिब रु. २,८५७ सम्म बचत हुने कम्पनीले
जनाएको छ ।
यसैगरी, पल्सर १२५, पल्सर एन१२५, पल्सर १५०, पल्सर एन१५०, पल्सर एन१६०, पल्सर २२०एफ, पल्सर २००एनएस, पल्सर एन२५० तथा एनएस४००जेड लगायत सम्पूर्ण मोडेलमा पनि मासिक किस्ता उल्लेख्य रूपमा घटाइएको छ । जसले ग्राहकलाई आफ्नो आवश्यकता र बजेटअनुसार मोटरसाइकल छनोट गर्न थप सहज बनाउने अपेक्षा गरिएको छ ।
कम्पनीका अनुसार यो कुनै सीमित अवधिको छुट योजना नभई ग्राहकको वास्तविक आवश्यकता बुझेर स्वामित्वलाई अझ पहुँचयोग्य बनाउने उद्देश्यले ल्याइएको योजना हो । मोटरसाइकलको मूल्यभन्दा पनि मासिक किस्ता धेरैका लागि चुनौती बन्ने अवस्थालाई ध्यानमा राख्दै बजाजले ऋण अवधि विस्तार र ब्याजदर घटाउने निर्णय गरेको जनाएको छ ।
एचएच बजाजका अनुसार ग्राहकको सुविधालाई केन्द्रमा राखेर गरिएको यस निर्णयले अझ धेरै नेपालीलाई सहज मासिक किस्तामार्फत आफूले चाहेको बजाज मोटरसाइकलको स्वामित्व लिन मद्दत गर्नेछ । कम्पनीले आगामी दिनमा पनि ग्राहकको आवश्यकता र बजारको मागअनुसार यस्ता ग्राहकमैत्री योजना ल्याउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
नेपाल राष्ट्र बैंकको नियमनमा रहेको हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) मार्फत उपलब्ध हुने यो सुविधा देशभर रहेका एचएच बजाज शोरुमहरू बाट लिन सकिने कम्पनीले जनाएको छ ।








